काठमाडौँ, ८ फरवरी,२०२०
चीनमा देखा परेको कोरोना भाइरस र त्यसले विभिन्न मुलुकमा पारेको असरका कारण नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा धक्का लाग्ने संकेत पहिलो महिनामै देखा परेको छ ।
नेपाल आउने विदेशी पर्यटकमध्ये चिनियाँ नागरिक ३० प्रतिशतको हाराहारीमा हुने गरेको छ । नेपाल घुम्न आउने विदेशी पर्यटकमध्ये भारतीयपछि चिनियाँ पर्यटक दोस्रो नम्बरमा पर्दछन् ।
पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०१९ मा १ लाख ६९ हजार चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए । यो संख्या सन् २०१८ को तुलनामा ३ प्रतिशतले बढी हो । सन् २०१७ मा नेपाल आउने चिनियाँ पर्यटकहरुको संख्या करिब एक लाखको हारहारीमा सीमित थियो ।
पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकको आगमन बढेसँगै पर्यटन क्षेत्र उत्साहित भएको थियो । यही उत्साहकाबीच सरकारले भ्रमण वर्ष २०२० को घोषणा ग¥यो । तर, भ्रमण वर्षको शुरुवात हुन नपाउँदै पर्यटकको प्रमुख बजार चीनमा आएको कोरोना भाइरसको महामारीले चिनियाँ पर्यटकको आगमन ठ्याप्पै बन्द हुन पुग्यो ।
यद्यपि, यो परिस्थिति लामो समय नरहने सरोकारवालाहरु बताउँछन् । कोरोनाको नियन्त्रणसँगै विस्तारै अनुकुल वातारण बन्दै जाने पर्यटक व्यवसायीहरुको भनाइ छ ।
ट्रेकिङ्ग एसोशियसन अफ नेपाल (टान)का अध्यक्ष खुम सुवेदी अहिलेको चीनको समस्या लामो समय नजाने र वातावरण विस्तारै अनुकुल बन्दै जाने बताउँछन् । बरु अहिलेको समस्या तत्काल समाधान गर्न नेपाल सरकार तथा सरोकारवाला निकायहरुले वैकल्पिक उपायहरु खोज्नु पर्ने उनको भनाइ छ ।
कोरोना भाइरसको प्रकोप अझै कायम रहेको र यसले अझै केही महिनासम्म त्रास कायम राख्ने भएकाले पर्यटक आगमनको यो अवस्थामा तत्काल सुधार आउने अवस्था देखिएको छैन ।
त्यसो त यस अघि पनि भ्रमण वर्ष मनाइ सकेको सरकारले त्यतिबेला पनि लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकेको थिएन ।
टानका अध्यक्ष खुम सुवेदी यस वर्ष बढीमा १३ लाख पर्यटक नेपाल भित्रिने बताउँछन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान, क्षमता र बजारका आधारमा वर्षमा १३ लाख पर्यटक भित्र्याउन सम्भव हुने उनको भनाइ छ ।
‘हवाईजहाजबाट एयपोर्ट झर्ने बित्तिकै सबै पर्यटक हुँदैनन् । कोर विदेशी नागरिक जो खर्च गर्ने उद्देश्यले आउँछन्, उनीहरु नै वास्तविक पर्यटक हुन् । तर यस्तो संख्या कमै हुन्छन्,’ उनले भने, ‘बाहिरबाट आउने नेपालीहरु पनि हुन्छन् । त्यसमा केहि एनआरएन पनि हुन्छन् ।’
विमानस्थलमा हुने उडान, ती विमानबाट आएका यात्रु सबैलाई गणना गर्दा नेपाली र एनआरएनसमेत पर्ने भन्दै उनले नेपाल भित्रिने वास्तविक पर्यटकको संख्या वार्षिक १२–१३ लाखसम्म हुने बताए ।
युनिट्रा सेन्टर कमिटीका अध्यक्ष सुमन पराजुली पनि पर्यटन वर्षको लक्ष्य पुरा नहुने बताउँछन् । पूर्वाधारको कमजोर हुनका बाबजुद भ्रमण वर्षको ढोल पिटेको भन्दै उनले चीनमा देखिएको कोरोना भाइरसले थप चुनौती बढाएको बताए ।
‘सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य बनाएको छ । तर यसको कुनै संभावना देखिदैँन,’ पराजुलीले भने, ‘चीनमा देखिएको कोरोनाको महामारीले चुनौती थपिदिएको छ । यसले गत वर्षको हाराहारीमा समेत पर्यटक संख्या पुग्ने हो कि होइन भन्ने डर पैदा गराएको छ ।’
पराजुलीका अनुसार अहिलेको पर्यटन पूर्वाधार र सामाजिक सुरक्षाको अवस्थाले समेत पर्यटन आगमनमा समस्या आइरहेको छ । पर्यटन सुरक्षा र पोर्टलहरु सम्बन्धी ऐन ‘सोसल सेक्युरिटी एक्ट’ आए पनि अझै कार्यान्वयनमा समस्या रहेको उनको भनाइ छ ।









































