काठमाण्डौ, 9 फरवरी 2020
नेपाली काँग्रेसले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिन प्रकृया गलत भएकोले तेस्रो पटक संसद अवरुद्ध गरेको जनाएको छ। आइतबार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै काँग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले किन छानबिन गरियो भनेर नभइ छानबिनको प्रकृया गलत भएको भनेर विरोध गरिएको बताउनुभयो। संसदमा छलफल गरेर टुंगिने विषय नभएको आफुहरुलाई थाहा भएपनि अदालतमा मुद्दा पुऱ्याउने प्रकृया निष्पक्ष र कानूनसम्मत नभएको उहाँले बताउनुभयो। कानून सबैलाई समान हुनेभएपनि एउटै कानूनलाई फरक फरक ढंगले ब्याख्या गरेर मुद्दा अगाडी बढाउने विषय आपत्तिजनक भएको उहाँले बताउनुभयो।
सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले लगातार तीन पटक काँग्रेसले संसद अवरुद्ध गरेपनि अरुबेला जस्तो सरकारसँग कुनै माग नै नराखेको बताउनुभयो।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसद लक्ष्मणलाल कर्णले अख्तियारले भेदभावपूर्ण रुपमा निर्णष् गरेको भन्दै लगातार संसद बैठक अवरुद्ध हुनु राम्रो नभएको भन्दे यो विषयलाई गम्भिरतापूर्वक छलफल गरेर टुंगो लगाउनुपर्ने बताउनुभयो।
आइतबारका लागि बोलाइएको संसद बैठक काँग्रेसको अवरोधका कारण स्थगित भएको थियो। ललिता निवास प्रकरणमा अख्तियार दुरुपोग अनुसन्धान आयोगले भेदभावपूर्ण तरिकाले मुद्दा दायर गरेको भन्दै लगातार तेस्रो पटक संसद अवरुद्ध गरेको हो। आइतबार सभामुखले काँग्रेस सांसदलाई बोल्ने समय दिनुभएको थिएन्।









































