जापान, 9 फरवरी 2020/ हिम शाह
सुदूरपश्चिमेली नेपाली समाज जापानको छैठौँ अधिवेशन टोकियोमा आयोजना गरिने भएको छ। फरवरी 23 तारीख आईतबार टोकियोको ओकुबोस्थित नेवा डाइनिङको कार्यक्रम हलमा छैठौँ अधिवेशन आयोजना गरिने सुदूरपश्चिम समाजले जनाएको छ। अधिवेशन दुई चरणमा विभाजन गरिएको छ। पहिलो चरणमा बन्द सत्र र दोस्रो चरणमा खुल्ला सत्रको आयोजना गरिएको छ। बन्द सत्र कार्यक्रम बिहान 9 बजेदेखि शुरु हुने र खुल्ला सत्र अपराहन्न 3 बजे शुरु भई पाँच बजे समापन गरिने समाजका अध्यक्ष एकेन्द्र थापाले जानकारी दिनुभयो।
अधिवेशन सफल पार्न समाजले विभिन्न समितिहरुको पनि गठन गरेको छ। जसमा निर्वाचन समिति, ब्यवस्थापन समिति, प्रचार-प्रसार समिति र सदस्यता वितरण तथा विस्तार समितिलगायत रहेका छन्। समाजका पूर्व अध्यक्ष पूर्ण चलाउनेको संयोजकत्वमा आशिष रावल, बिष्णु भट्ट र नृप बुढा सदस्य रहेको 3 सदस्यीय निर्वाचन समितिको गठन गरिएको छ भने, समाजका अध्यक्ष एकेन्द्र थापाको संयोजकत्वमा दिनेश अधिकारी, प्रकाश जोशी, टक्कर कुँवर र कृष्ण कोइराला सदस्य रहेको व्यवस्थापन समितिको गठनसमेत गरिएको छ। समाजका संरक्षक डा. भरत सिंह नेगीको संयोजकत्वमा भुवन शंकर भट्ट, एच.बी. ताम्राकार, मदन साउद, मोहन मडै र बिनोद चन्द सदस्य रहेको प्रचार-प्रसार समितिको गठन गरिएको छ।
त्यसैगरी सदस्यता वितरण तथा विस्तार समितिको संयोजकमा समाजका सल्लाहकार पदमसिंह ठगुन्नालाई जिम्मेवारी दिइएको जानकारी समाजले दिएको छ।









































