बाजुरा,१० फरवरी, २०२०
बाजुरा जिल्लाको गौमुल गाउँपालिका–३ माझपालिमा बदेँलको आक्रमणमा परी ७ जना घाइते भएका छन् ।
माझपालीमा रहेको धर्मोदय आधारभुत विद्यालयको सरसरफाईमा जुटेका स्थानीय ७ जनालाई आइतबार बिहान बदेँलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घाइते हुनेमा सोही वडाका स्थानीय ५० वर्षीय जगत विश्वकर्मा, ४० वर्षीय पूर्ण विक, ५० वर्षीय डवल रोकाया, ४५ वर्षीय धनबहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिएका छन् ।
४० वर्षीय प्रेम रोकाया, ४० वर्षीय मेश रोकाया र ४२ वर्षीय लाल कामी घाइते भएको प्रहरी निरीक्षक रोकायाले बताए ।
घाइते भएका मध्ये जगत विश्वकर्माको अवस्था गम्भीर रहेको छ । बदेलको आक्रमणमा परी घाइते भएका चार जनाको गौमुल स्वास्थ्य चौकीमा उपचार पछि घर फकाइएको प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले बताए ।









































