रौतहट, ११ फरवरी, २०२०
रौतहटको सदरमुकाम गौरसँगै जोडिएको भारतीय बजार बैरगनियातर्फ नेपाली सवारी साधन प्रवेशमा रोक लगाइएको छ ।
रोक लगाउँदा यात्रुलाई कठिनाइ भएको छ । रौतहटका स्थानीय प्रशासनले भारतीय नम्बरको टेम्पो चलाउन प्रतिबन्ध लगाएसँगै भारतीय पक्षले पनि नेपाली सवारीलाई रोकेपछि यात्रुलाई गौर–बैरगनिया आवत जावतमा सास्ती खेप्नु परेको हो ।
नेपाली नम्बर प्लेटका सवारी साधन बोर्डरसम्म मात्र सीमित हुन्छन् भने दैनिक विभिन्न सामान खरिद गर्न बैरगनिया बजार जाने तथा उताबाट आउने मानिस बोर्डरदेखि गौरसम्म आउन कठिनाइ भएको छ । जिल्ला सदरमुकाम गौर तथा रौतहटका दक्षिणी भेगका अधिकांश परिवारका किनमेल गर्न बैरगनिया बजार जाने गर्दछन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटले गौरमा भारतीय नम्बर प्लेटको टेम्पु चलाउन सोमबारदेखि प्रतिबन्ध लगाएको हो । यसबाट आक्रोशित बनेका भारतीय व्यवसायीले नेपाली नम्बर प्लेटका गाडी पनि सोमवार विहानैदेखि भारततर्फ जान रोक लगाएका हुन् ।
दुवैतर्फका यात्रुलाई समस्या हुने भन्दै स्थानीय प्रशासनले उक्त आदेश कार्यान्वयनमा वास्ता नगरे पनि नेपाली टेम्पु व्यवसायीले अदालतको आदेश कार्वान्यन गर्न दबाब दिएपछि गत माघ २६ गतेदेखि भारतीय नम्वर प्लेटको टेम्पु गौर प्रवेशमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।
भारतीय नम्बर प्लेटका तीन पाङ्ग्रे सवारी साधन गौरमा आउन नदिइएको विरोधमा भारतीय व्यवसायीहरुले नेपाल नम्बरप्लेटका मोटरसाइकल, इ–रिक्सा, चारपाङ्ग्रे सवारी साधनलाई मितेरी पुलबाटै फर्काउने गरेका छन् ।









































