काठमाण्डौँ, 11 फरवरी 2020
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान लोकतन्त्रलाई कमजोर बनाउने काम कहीँ कतैबाट भए प्रतिकारमा उत्रने चेतावनी दिएको छ। प्रतिनिधिसभाको मंगबारको बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले लोकतन्त्रलाई कमजोर पार्ने गरि संबैधानिक अंगहरुबाट काम भए कांग्रेस चुप लागेन नबस्ने चेतावनी दिनुभएको हो। संविधान अनुसार गठन भएको संबैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको प्रभावमा परेर राजनीतिक पुर्वाग्रहमा परेर माघ २२ गते नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका उपनेता बिजयकुमार गच्छदारमाथि भेदभावपुर्ण ढंगबाट विशेष अदालतमा आरोप पत्र दायर गरेको र सो को पुष्टि सरकार आफैले गरेको दाबी उहाँले गर्नुभयो।
अख्तियारले प्रतिशोधमा परेर मुद्धा दायर गरेको सर्वसाधरणले पनि थाहा पाएको भन्दै उहाँले अख्तियारको कामलाई आफ्नो उपलब्धि भनेर भन्ने सरकारसंग जवाफ माग गर्नुभयो।
उहाँले संविधानवाद्, लोकतान्त्रिक मुल्य मान्यता विपरित राजनैतिक प्रतिशोधको आधार कसैलाई बैचारिक द्धन्द्धको आधारमा, कसैलाई जग्गा फिर्ता गरेको नाममा मुद्धामा नचलाउने अख्तियारको कार्यशैली माथि प्रतिपक्षी दलको गम्भीर आपत्ति र गम्भीर विरोध भएकाले संसदलाई अवरोध गरेको स्मरण गराउदै संसद अवरुद्धको कार्य स्थगित गरिएको जानकारी गराउनुभएको थियो। यसअघि नेपाली कांग्रेसको संसदीय दलको बैठकले आफ्ना भनाई राख्दै प्रातिनिधिसभाको बैठक सुचारु हुन दिने निर्णय गरेको थियो। यसअघि नेपाली कांग्रेसको केन्द्रीय समितिको सोमबार बसेको बैठकले राजनीतिक र कानूनी लडाई एकसाथ लड्ने निर्णय गरेको थियो।









































