काठमाण्डौँ, 11 फरवरी 2020
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति असन्तुष्टि जनाउनुभएको छ। मंगलबार गृहमन्त्रालयमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुले तपाई नभनि तिमी भन्ने गरेकामा असन्तुष्टि जनाउनुभएको हो। सञ्चार माध्यमहरुले अंग्रेजीको सिको गरेर कसैलाई हजुरभन्दा आफु अपमानित भएको ठान्ने गरेको बताउनुभयो। नेपालको आफ्नो भाषा र भाषाको मर्म भएको उल्लेख गर्दै ओलीले सञ्चारमाध्यमहरु कसैलाई हजुर भन्दा सारै सानो ठान्ने गरेको बताउनुभयो।
प्रधानमन्त्री ओलीले आदरार्थी शब्द र सम्मानयुक्त व्यवहार समाजबाटै हटाउने सुनियोजित प्रयास भएको आरोप समेत सञ्चारमाध्यमलाई लगाउनुभएको छ।
उहाँले नेपाली सभ्यता र संस्कृतिमाथि सञ्चारमाध्यमहरुबाट निरन्तर हमला भएको समेत बताउनुभएको छ। लहैलहैमा लागेर सञ्चारमाध्यमहरुले विनम्रता र शालिनतामाथि हमला गरिरहेको आरोप लगानुभयो।









































