दार्जीलिङ, 11 फरवरी 2020/ कयेष अंसारी
दार्जीलिङ पहाडमा पहिलो पटक माध्यमिक तहको लागि गणित सहयोगी पुस्तक प्रकाशन गरिएको छ। स्थानीय शिक्षकले पहाडमा पहिलो पटक गणित सहयोगी पुस्तक प्रकाशन गर्नुभएको हो। यसअघि उहाँले सन् 2017-मा पनि आफ्नो पहिलो पुस्तक प्रकाशित गर्नुभएको थियो। सो पुस्तकको उपयोग खर्साङका केही विद्यालयहरूमा मात्र भएको थियो। तर यस पटक उहाँलाई प्रकाशक पाइएकामा खुसी व्यक्त गर्दै उहाँले पुस्तक सार्वजनिक गर्नुभएको हो।
उहाँले बजारमा थुप्रे पुस्तकहरू उपलब्ध भएपनि ती मध्ये अधिकांश पुस्तक बङ्गाली भाषामा भएको बताउनुभयो। उहाँले आफ्नो पुस्तक अंग्रेजी भाषामा भएको बताउँदै यस क्षेत्रका विद्यार्थीहरूको लागि यो पुस्तक अतिनै उपयोगी साबित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले पुस्तकमा समस्याहरूको हल सरल तथा विद्यार्थीहरूले सजिलै बुझ्न सक्ने तरिकाले गरिएको जानकारी समेत दिनुभयो।
उहाँ सन् 2009 देखि गणित शिक्षकको रूपमा कार्यरत हुनुहुन्छ। र भर्खरै मात्र उहाँ प्रधानाध्यापकका रूपमा सोनादाको एक निजी विद्यालयमा सेवा दिइरहनुभएको छ।









































