काठमाण्डौँ, 11 फरवरी 2020
देशभक्त गणतान्त्रिक मोर्चाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा ल्याउन नहुने भन्दै ज्ञापन पत्र बुझाएको छ। मंगलबार प्रधानमन्त्री कार्यालयमा मोर्चाको टोली पुगेर उक्त ज्ञापन पत्र बुझाएको हो। मोर्चाका संयोजक सिपी गजुरेलले ज्ञापन पत्र बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै आफुहरुले एमसीसी कार्यान्वयन गर्न नहुने र भारतले नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका स्थान कब्जा गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो। उहाँले प्रधानमन्त्री ओलीले एमसीसी संसदबाट पास हुने र कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको बताउनुभयो। त्यस्तै नेपालको लिम्पियाधुरा, कालापानी तथा लिपूलेक लगायतमा भारतले मिचेको भूमि फिर्ता गर्न सचिवस्तरबाट वार्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीले बताउनुभएको संयोजक सिपी गजुरेलले बतायनुभयो।
संयोजक गजुरेलले एमसीसी कार्यान्वयनमा आए नेपालमा अमेरिकी सेनाको प्रवेश हुने र नेपाललाई अफगानिस्तान, इराक र सिरिया बनाउने सम्भावना रहेको बताउनुभयो। उहाँले ५५ अर्ब पाउने लोभमा नेपालको स्वतन्त्रतामाथि आँच पुग्ने काम सरकारले गर्न लागेको बताउनुभयो। त्यस्तै उहाँले सरकारले नेपालको नयाँ नक्सा जारी गर्न नसकेको तथा आफ्नो जमिनमा अधिकार स्थापित गर्न सरकारले नै चासो नदेखाएको आरोप समेत लगाउनुभयो।









































