नयाँदिल्ली, १२ फरवरी, २०२०
यी सबै सर्वेक्षण गलत हुनेछन् । मेरो यो ट्विट सम्हालेर राख्नुहोला भारतीय जनता पार्टीले ४८ सिटसहित दिल्लीमा सरकार गठन गर्नेछ । कृपया इलेक्ट्रोनिक भोटिङ मेशिनलाई दोष दिने बहाना नखोज्नुहोला ।’भारतीय जनता पार्टी (भाजपा) दिल्ली अध्यक्ष मनोज तिवारीले गत शनिबार विधानसभाका लागि मतदान भएकै दिन गरेको ट्विट हो, यो ।
लोकसभा सदस्यसमेत रहेका तिवारीले भनेजस्तै दिल्लीमा कम्तीमा ४८ सिटसहितको सरकार बन्ने पनि पक्कापक्की भयो, तर भाजपाको होइन, आम आदमी पार्टी (आप) को ।
मंगलबार साँझसम्म ५८ स्थानको परिणाम सार्वजनिक हुँदासम्म आपले ५२ र भाजपाले ६ स्थानमा जित हासिल गरेका छन् । सन् २०१५ को विधानसभामा ६७ स्थानमा जितेको आपले केही सिट कम जिते पनि आगामी पाँच वर्ष सत्ताको बागडोर हाँक्ने सुनिश्चित भइसकेको छ ।
कुल ५४५ सदस्यीय लोकसभामा भाजपाका ३०३ सांसद छन् । २०१९ मा सम्पन्न लोकसभा चुनावमा दिल्लीका सात मध्ये सातै स्थानमा भाजपाले जीत हासिल गरेको थियो । तर, विधानसभाको चुनावमा आम आदमीले बाजी र्मायो ।









































