काठमाडौँ, १२ फरवरी, २०२०
प्याजको मूल्य घटेर प्रतिकेजी सय रुपैयाँ भन्दा तल झरेको छ । कुनै समय २ सय ५० रुपैयाँ रहेको प्याजको मूल्य अहिले घटेको हो ।
उपत्यकाकै सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी तरकारी तथा फलफूल बजारमा गत आइतबारदेखि प्रतिकेजी खुद्रा प्याजको मूल्य ९० देखि एक सय रुपैयाँ रहेको छ ।
त्यस्तै प्याजको थोक मूल्य पनि प्रतिकेजी ७२ देखि ७५ रुपैयाँसम्म रहेको कालिमाटी बजारको सूचनामा उल्लेख छ।
गत सिजनमा भारतमा प्याजको उत्पादनमा कमी आएपछि प्याजको मूल्य बढेको थियो। त्यसमा पनि विदेश निर्यातमा प्रतिवन्ध लगाएपछि भारतमा निर्भर नेपाली प्याजको बजारमा मूल्य आकासिएको थियो।
त्यतिबेला चिनियाँ प्याजको केही मात्रामा आयत भएपनि मूल्य भने घटेको थिएन। नेपालमा उपभोग गरिने ९० प्रतिशतभन्दा बढी प्याज भारतबाट आउने गरेको बताइन्छ ।









































