बाजुरा, १३ फरवरी, २०२०\ हिम शाह
नेपाली काँग्रेसले आगामी फागुन ७ गतेबाट कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काँग्रेस जिल्ला कार्यसमितिको मार्तडीमा सम्पन्न बैठकले फागुन ७ देखि २० गतेसम्म नौ वटै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
पार्टीको आन्तरिक जीवन, संगठन शसक्तिकरण, देश विकासमा काँग्रेसको भूमिका र राजनीतिक विचार तथा सैद्धान्तीक विषय बारे जानकारी दिन प्रशिक्षण कार्यक्रम गर्न लागेको प्रवक्ता धनराज पण्डितले जानकारी दिएका छन् ।
प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न नौ जनालाई संयोजक तोकिएको छ ।जसमा बडिमालिका नगरपालिकामा जुना दानी, बुढीगंगा नगरपालिकामा तीलक पुरा, त्रिवेणी नगरपालिकामा रनसिंह अयडी, बुढीनन्दा नगरपालिकामा रामबहादुर बोहराले जिम्मेवारी पाएका छन् ।
यस्तै खप्तड छेडेदह गाउँपालिका धनराज पण्डित, हिमाली गाउँपालिका गोविन्द्र बहादुर मल्ल, गौमुल गाउँपालिका पदम बडुवाल, जगन्नाथ गाउँपालिका मोहन कार्की र स्वामिकात्र्तिक गाउँपालिकामा भरत रोकायालाई संयोजक बनाईएको छ ।
पार्टी सभापति कविराज पण्डितको अध्यक्षतामा बसेको बैठकले विज्ञ टोली बनाएर विकास र राजनीति दुबै क्षेत्रको प्रशिक्षण दिने योजना अघि सारेको प्रवक्ता पण्डितले जानकारी दिएका छन् ।काँग्रेस केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डे प्रमुख अतिथि रहेको बैठकमा नेताहरु जनकराज गिरी, देवराज जोशी महा नेपाली सहीत उपस्थित थिए ।
काँग्रेसले यो वर्षको अधिवेशनको वर्षका रुपमा पनि प्रस्ताव गरेको छ । बैठकले काँग्रेस नेता रामसिंह रावलका पीता सर्पे रावलतको मृत्यु प्रति दुख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।









































