काठमाडौँ, १५ फरवरी, २०२०
फागुन २३ गतेलाई प्रदर्शन मिति तय गरेर छायांकनमा गएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन मिति एक साता पछि सरेको छ ।
चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता तथा निर्देशक सुदर्शन थापाले फागुन ३० गतेलाई प्रदर्शन मिति तय गरिएको जानकारी दिए ।
योसँगै, चलचित्रको प्रदर्शन मिति पछि सर्नुको कारणबारे विभिन्न तर्क हुन थालिएको छ । फागुणको २३ गते हिन्दी चलचित्र ‘बाघी ३’ पनि रिलिज हुँदैछ । हिन्दी चलचित्रको भएका कारण सुदर्शन र नायिका पूजा शर्माले यो चलचित्रको प्रदर्शन मिति एक साता पछि सारेको टिप्पणी हुन थालेको छ ।
तर, निर्देशक तथा निर्माता सुदर्शन थापाले भने वितरकहरुसँग सल्लाहा गरेर नै चलचित्रको प्रदर्शन मिति तय गरिएको बताए । उनले भने–‘हामी माघ २८ गतेसम्म पनि चलचित्रलाई फागुन २३ गते नै रिलिज गर्ने पक्षमा थियौं । यसका लागि ट्रेलरमा पनि फागुन २३ नै उल्लेख गरिएको थियो । तर, वितरकले माघ २९ गते बोलाएर हामीलाई डेट सार्न आग्रह गर्नुभयो ।’
सुदर्शनले हिन्दी र नेपाली चलचित्र एकसाथ आउँदा शोज बाँडिने र नेपाली चलचित्र चेपुवामा पर्ने घटना यसअघि पनि घटेको भन्दै यस्तो नहोस् भन्नका लागि प्रदर्शन मिति एक हप्ता पछि सारिएको बताए । उनले भने–‘सम्पूर्ण हलले दुबै चलचित्रलाई उत्तीकै महत्व दिएका छन् । तर, एकसाथ आउँदा शोज बाँडिन सक्छ । यस्तो अवस्थामा एक साता पछि सार्न वितरकले आग्रह गरेपछि हामी पनि तयार भएका हौं ।’
पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको यो चलचित्रको ट्रेलरलाई दर्शकले रुचाएका छन् ।









































