दार्जीलिङ, 17 फरवरी 2020/ कयेश अंसारी
गोर्खा जनमुक्ति मोर्चा (बिमलपन्थी)- केन्द्रिय समितिका कार्यकारी अध्यक्ष लोपसाङ लामा तथा नारी मोर्चा नेतृ उर्मिला रुम्बा र भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता एवम् राज्यसभा सांसद सुब्रमण्यम स्वामी बीच भेटवार्ता भएको छ। आज बिहान अध्यक्ष लामा र नारी मोर्चा नेतृ रुम्बाको अगुवाईमा एउटा टोलीले विगत केहि दिनदेखि “गोर्खाल्याण्ड” मुद्दाप्रति सक्रियता देखाइ रहनु भएका नेता स्वामीसँग भेटघाट गरेको हो। टोलीले “गोर्खाल्याण्ड” मुद्दाप्रति देखाएको सक्रियताका लागि सांसद स्वामीलाई धन्यवाद ज्ञापन गरेको छ।
भेटघाटको क्रममा नेता स्वामीले “गोर्खाल्याण्ड” मुद्दाप्रति आफु अवगत रहेको र यस मुद्दालाई अन्तर हृदयबाट समर्थन गरेको बताउनुभयो। उहाँले बजेट सत्रको बाँकी अवधिमा “गोर्खाल्याण्ड” मुद्दाबारे संसदमा कुरा राख्ने प्रतिबद्धता पनि जनाउनुभयो।
उहाँले दार्जीलिङमा आफ्नो संस्थाद्वारा यसै वर्षको मई महिनामा एउटा सभाको आयोजना गर्ने बताउनुभयो। उहाँले “गोर्खाल्याण्ड” को मुद्दा पार नलागेसम्म आफू पछि नहट्ने वचन पनि दिनुभयो।









































