काठमाण्डौ, 18 फरवरी 2020
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वकालमा बेपत्ता भएका कारण सम्पत्ति रोकिएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरेको छ। मंगलबार पत्रकारहरुसँग कुराकानीमा आयोगका अध्यक्ष युवराज सुवेदीले द्वन्द्वकालमा कुनै व्यक्ति बेपत्ता भएका कारण सम्पत्ति रोकिएको भए आयोगमा सम्पर्क गर्न आग्रह गर्नुभएको हो। सम्पत्ति हस्तान्तरण, अंशबण्डा लगायतका समस्या आएका छन् भने आयोगमा सम्पर्क गरेर समाधान गर्न सकिने उहाँले बताउनुभयो।
आयोगले व्यक्ति हेरेर छानबिन नगर्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष सुवेदीले उजुरीकर्ताले दिएको उजुरीको र छानबिनको आधारमा निर्णय हुने बताउनुभयो। ठूला माछालाई छोड्ने र सानालाई समात्ने भन्ने आशंकाहरु नगर्न उहाँले आग्रह गर्नुभयो।
आयोगमा २५ सय ६ वटा उजुरीमाथिको अनुसन्धान सुरु भएको छ। आयोगमा परेका उजुरीहरु खोलेको र अनुसन्धान अधिकृत तोकेर रोल्पामा टोली पठाउने तयारी भएको आयोगले जनाएको छ।
आयोगका अध्यक्ष सुवेदीले वेपत्ता भएको भनि उजुरी परेका केही व्यक्तिहरु सम्पर्कमा आएको बताउनुभयो। आयोगको सम्पर्कमा आएका व्यक्तिहरुको नाम केही दिनमा नै सार्वजनिक गरिने उहाँले बताउनुभयो। आयोगका अध्यक्ष सुवेदीले ऐन संशोधनको तयारी सुरु भएको बताउनुभएको छ। उहाँले पीडितको सहमतिमा क्षमादान दिन सक्ने गरी कानूनी व्यवस्था गर्न सरकारलाई १४ बुँदे सुझाव दिइएको बताउनुभयो। अध्यक्ष सुवेदीले भैरवनाथ गण, चिसापानी ब्यारेक र खारा घटना लगायतको अनुसन्धान हुने पनि बताउनुभएको छ।









































