काठमाण्डौँ, 18 फरवरी 2020
निर्वाचन आयोग नेपालले ‘लोकतन्त्रको सवलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने नाराका साथ मतदाता शिक्षा अभियान प्रारम्भ गरेको छ। आगामी निर्वाचनमा मतदाता सहभागिता बढाउन, बदर मत घटाउन, निर्वाचनको महत्व बुझाउन र आफुले इच्छाएको उम्मेदवारलाई मत दिन सक्षम बनाउने उद्देश्ले चौथो निर्वाचन दिवसका अवशरमा अभियान सुरु गरिएको हो। आयोगले मंगलबार निर्वाचन शिक्षा सम्बन्धि स्रोत पुस्तिका समेत सार्वजनिक गरेको छ। युएनडिपी इएसपीको सहयोगमा १७ प्रकारका निर्वाचन शिक्षा सम्बन्धि पुस्तिका सार्वजनिक गरिएको हो। समुदायमा आधारित संघ—संस्था मार्फत निर्वाचन तथा मतदाता शिक्षालाई अगाडी बढाउन पहिलो तहका लागि रातो रंगमा मतदान, मतदाता नामावली, लोकतन्त्र, समावेदशीता र निर्वाचन गरी पाँच वटा पुस्तक प्रकाशन गरिएको छ।
त्यसैगरी दोस्रो तहका लागि प्याजी रंगमा ६ वटा पुस्तक प्रकाशन गरिएको छ। निर्वाचनको महत्व, मतदानको महत्व, मतदाता नामावलीमा नाम दर्ता, निर्वाचन र राजनीतिक दल, समावेशी निर्वाचन, परिवर्तन र निर्वाचन सम्बन्धि संवैधानिक व्यवस्था शीर्षकमा पुस्तक प्रकाशित गरिएको छ। यस्तै तेस्रो तहमा निलो रंगमा ६ वटा पुस्तकहरु निर्वाचन विवाद र विवाद निरुपण, निर्वाचन र सामुदायिक संस्थाको भूमिका, नेपालको निर्वाचन प्रणाली, निर्वाचन र निर्वाचन चक्र, लोकतन्त्रका लागि निर्वाचन र समावेशीकरण शीर्षकका पुस्तिका प्रकाशन गरिएको छ। प्रकाशित पुस्तिकाहरुले निर्वाचन र नागरिक शिक्षामा क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो। निर्वाचन शिक्षा र निर्वाचनको महत्व आम नागरिकलाई बुझाउन नसकिएको भन्दै आलोचना भइरहेका बेला पुस्तिकाहरु प्रकाशित गरिएको उहाँले बताउनुभयो।
आयोगले निर्वाचन र मतदाता सम्बन्धि विषयमा जानकारी गराउन र आफ्नो मताधिकार र मतको महत्व बोध गराई निर्वाचनमा आफ्नो सहभागिता जनाउन ‘एक भोट’ नामक लघु चलचित्रको निर्माण गरी प्रशर्दन पनि थालेको छ। लघु चलचित्रले निर्वाचनका समयमा हुनसक्ने अवाञ्छित कृयाकलापहरुबाट निर्वाचनलाई के कसरी प्रभावित गर्न सक्दछ र त्यसबाट सजग र सचेत कसरी रहने भन्ने सन्देश प्रदान गर्ने उहाँले बताउनुभयो।









































