दार्चुला, 18 फरवरी 2020/ हिम शाह
दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकुमा रहेको पुरातात्विक, प्रचीन, ऐतिहासिक महलको भग्नावशेष पुनःनिमार्णको पर्खाइमा रहेको छ। मध्यकालीन कत्युरी राजाहरुको राज्य अन्तरगत पर्ने महत्तपुर्ण उक्त महल कुनै कारण भत्किन गइ भग्नाबशेषमा परिणत भएको किम्बदन्ती पाइन्छ। सुदुर पश्चचिम प्रदेश मध्ये कै एउटा महलको रुपमा रहेको यो महलको अध्ययन, अन्वेषण, अनुसन्धान र उत्खनन् गर्नसकेमा दार्चुलाकै ऐतिहासिक उपलब्धि हुनुका साथै पर्यटकिय गन्तब्य बन्न सक्ने प्रचुर सम्भावना रहेको छ। उकु क्षेत्रमा ठुलो संख्यामा कलात्मक शिलाहरु छरिएका छन्। देबीदेवताका मूर्तिहरु, आमलक, शिखर गजुरका अर्ध भागहरु, ढुगेंधारा, नाग, बसाह, सिहं, चक्रशिलासहित थरिथरिका आकृतिहरु बिभिन्न शिलामा कुदिएको स्पष्टै देख्न सकिन्छ।

महाकाली किनारमा अवस्थित ऐतिहासिक उकु कत्युरी राजाहरुको राजधानी भएको इतिहासका जानकारहरु बताउँछन्। महल क्षेत्रमा कोटघर, देबस्थल, दरवारका मजबुद किल्लाहरु, ढुगांमा कुदिएका बिभिन्न भगवानका मुर्तीहरु, विभिन्न कलाकृतिका ढुगांहरुले मध्यकालका शक्तिशाली कत्युरी राज्य र सभ्यताको हिस्सा भएको यि ऐतिहासिक दस्ताबेजहरुले पृष्टी गरेकोस्थानियहरु बताउँछन। उकुको ऐतिहासिक सम्बन्ध सिमावर्ती भारतको अस्कोट संग रहेको देखीन्छ। अस्कोटको इतिहासअनुसार अभयपाल रणचुलाहाट स्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएका थिए र अभयपालले वरपरका विभिन्न असी वटा कोटहरुको एकिकरण गरेर अस्कोट नामाङकरण गरेको किम्वदन्ती छ।

पाल राजाहरुलाइ रजवार भन्ने गरिन्छ। बाह्र वटा बिभिन्न राजाहरुको प्रमुख राजालाइ रजवार भन्ने गरिन्थ्यो। दार्चुलाकै देथलाको पाल राज्य भन्ने बाह्र राजाहरुमा सम्मेलित थियो भन्ने बुझाइ पाइन्छ। प्रमाणिक रुपमा भन्नुपर्दा रजवार भारती पाल उकुका राजा थिए। कलात्मक शिलाको आकृति प्रकृति अनुरुप बिभिन्न समूहमा बर्गीकरण गरी सबै सामाग्रतिको फोटोग्राफीसहित बिस्तृत अभिलेख राख्नुपर्ने टड्कारो आबश्यकता रहेको कारण यसै बर्ष भग्नावशेषहरु संकलन गरेर ट्रस्टमा राख्ने गाउँपालिकाको योजना रहेको स्थानियहरुको भनाइ छ।

विस्तृत अध्ययनपछि ड्रइङ डिजाइन बनाइ सुर्खेतको काक्रेबिहार जस्तै एउटा मन्दिरको स्वरुप दिनसकिने सम्भावना प्रशस्तै भएकोले पुरातत्व विभागको ध्यान पुग्नु जरुरी रहेको स्थथानियहरुको माग छ।










































