काठमाण्डौ, 20 फरवरी
केही दिनदेखि निरन्तर सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी सञ्चारमाध्यमहरुमा सरकार बनाउने र परिवर्तन गर्ने कुरा छापिन शुरु भएको बताउनुभएको छ ।
निर्वाचन आयोग नेपालको चौथो निर्वाचन दिवसका अवशरमा बोल्दै प्रधानमन्त्री ओलीले सरकार बनाउने र सरकार परिवर्तन गर्ने सबै कुरा सञ्चर माध्यमहरुमा छ्यापछ्याप्ती आइरहेको बताउनुभयो । जनताको अभिमतबाट बनेको सरकारलाई जालझेल, षडयन्त्र र टिक्डमबाट फेर्ने कुरा दिनदिनै अखबारहरुमा छापिने गरेको उहाँको आरोप छ । ओलीले भन्नुभयो ‘जनताको अभिमतबाट नभएर जालझेल, षडयन्त्र र तिक्डमबाट सरकार फेर्ने दिनै पिच्छे अखवारहरुमा छापिरहेको छ । ओलीले ‘लोकतन्त्र जालझेल, टिक्डमको प्रणाली नभएर लोकतन्त्र जनताको अभिमतको प्रकटीकरणको प्रणाली भएको बताउनुभयो।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसका अवशरमा बुधबार पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति प्रति पनि व्यंग्य गर्नुभएको छ । केही मानिसहरुले भविष्यका कुरा नगर, भविष्यका कुरा गरेर जनताको मनोबल नउठाउ भनेर अर्ति उपदेश दिएको भन्दै प्रधानमन्त्री ओलीले व्यंग्य गर्नुभयो । उहाँले भन्नुभयो, ‘केही मानिसले हामीलाई सल्लाह, सुझाव, अर्ति उपदेश के दिन खोजेको हो कुन्नी यसो सुनिन्छ । पूर्वजहरुको गौरबलाई सधै सम्मान गर्ने उल्ले गर्दै ओलीले पूर्वजहरुका पौरख र उपलब्धिहरुको सम्मान गर्ने बताउनुभयो । ओलीले विगतका नकारात्मक कुराहरु पनि आफुले नविर्सेको बताउनुभयो । दरबार हत्याकाण्ड, माघ १९ जस्ता काला उद्देश्य प्रकटीकरण भएका काला दिनहरु पनि सम्झिरहेको उल्लेख गर्दै ओलीले हाम्रो स्मरण शक्ति कमजोर छ भनेर नसोच्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले जनताबाट प्राप्त अधिकारर्लाइ सुदृढ र विस्तृत गर्दै ति अधिकारहरुको सफलतापूर्वक कार्यान्वयनको काम सरकार अघि बढेको बताउनुभयो । देशमा सुशासन र विकासको बाटोमा सरकार अघि बढेको र यहि बाटोबाट सरकारले समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आकंक्षा सफलतापूर्वक अगाडी बढाउने बताउनुभयो । आयोगको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रतिनिधिसभा सभामुख अग्नि प्रसाद सापकोटा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।









































