काठमाण्डौँ, 20 फरवरी 2020
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठक अवरुद्ध गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्नुपर्ने माग गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा स्वीस कम्पनीका विचौलियासँग लेनदेनका विषयमा भएको सम्बाद सार्वजनिक भएपछि कांग्रेसले बास्कोटालाई बर्खास्त गरी अनुसन्धान अगाडी बढाउन माग गरेको छ। प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद पुष्पा भूसालले बास्कोटाको बर्खास्तीसँगै कारवाही प्रकृया पछि अगाडी बढाउन माग गर्नुभयो । उहाँले उक्त घटनामा प्रधानमन्त्री स्वयमले संसदमा आएर जवाफ दिनुपर्ने माग समेत गर्नुभयो ।
कांग्रेसले बालुवाटार प्रकरणमा जग्गा फिर्ता गरेकाले कारवाही नभएको भन्दै सञ्चारमन्त्रीले राजीनामा दिएका कारण कारवाही हुँदैन भन्न नपाइने बताएको छ । कांग्रेसले आफ्ना मागहरु पुरा नभएसम्म सदन चल्न नदिने बताएको छ। सभामुख अग्नि प्रसाद सापकोटाले बास्कोटाले मन्त्री पदबाट राजीनामा दिएको अनौपचारिक जानकारी प्राप्त भएकाले नियमित कारवाही अगाडी बढाउन माग गरेपनि कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए। दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजेमात्रै सुरु भएको थियो।









































