काठमाण्डौँ, 20 फरवरी 2020
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकार, नेपाली सेना र जनताको एकिकृत प्रयासबाट मात्र राष्ट्रको सुरक्षा सम्भव भएको बताउनुभएको छ । बिहीबार नेपाली सेनाले प्रकाशित गरेको युनिटी जर्नल सार्वजनिक गर्दै उपप्रधानमन्त्री पोखरेलले राष्ट्रको रक्षाको जिम्मेवारी सेनाले वा सरकारले मात्र गर्न सम्भव नहुने भएकोले नागरिकको समेत साथ र सहयोग अपरिहार्य भएको बताउनुभएको हो। उहाँले राष्ट्रिय सुरक्षाका लागि सबै पक्षको सोच र धारणा समान हुनुपर्ने समेत बताउनुभयो। त्यसका लागि अनुसन्धानमा आधरित लेखहरुले एकिकृत दृष्टिकोण बनाउन ठुलो मद्दत पुऱ्याउने बताउनुभयो। राज्य शक्तिका सबै संयन्त्रहरु एकिकृत भर्य परिपक्व नहुँदासम्म राष्ट्रिय सुरक्षामा चुनौति रहने उहाँले बताउनुभयो। सबै चुनौतिहरुको पहिचान गरी उपयुक्त रणनीति तयार गर्न अनुसन्धानात्मक प्रकाशनहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले युनिटी जर्नल पनि राष्ट्रिय सुरक्षाको विषयमा महत्वपूर्ण रहने बताउनुभयो।
उहाँले राष्ट्रिय सुरक्षाका चुनौति र राष्ट्रिय एकताका अवसरहरु पहिचान गरी नेपालको भू—राजनीति र भू—रणनीतिका विभिन्न पक्षहरुको अनुसन्धान र अध्ययनको आवश्यकता रहेको समेत बताउनुभयो । राष्ट्रिय सुरक्षाका विषयमा योग्य जनशक्ति निर्माण गर्ने उद्देश्यले सरकारले नेशनल डिफेन्स युनिभर्सिटी स्थापनाको कामलाई अगाडि बढाएको समेत बताउनुभो । कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रको विकास र समृद्धिको लागि राष्ट्रिय सोचमा एकता आवश्यक पर्ने र त्यसको आधार निर्माणमा जोड दिनुभयो । राष्ट्रिय एकताको महत्व स्थापित गर्न युनिटी जर्नल कोषेढुङ्गा सावित हुने विश्वास समेत उहाँले गर्नुभयो ।
प्रधान सेनापति थापाले भू—राजनीति र भू—रणनैतिक अवस्थितिले राष्ट्रको सुरक्षामा प्रत्यक्ष प्रभाव परेको बताउनुभयो। उहाँले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रुपमा विकास हुँदै गएको परिस्थितिले नेपालको भूराजनीतिक र रणनीतिक महत्व पनि बढ्दै गएको बताउनुभयो। उहाँले युनिटी जर्नल सबै नेपालीमा राष्ट्रिय एकताको सोच र विचार विकास गर्नका लागि र राष्ट्रिय सुरक्षाको रणनीतिक विकासका लागि सहयोगी हुने विश्वास रहेको बताउनुभयो। नेपाली सेनाले सेना दिवसको अवशरमा राष्ट्रिय सुरक्षा र एकतासम्बन्धि विषयहरु समावेश गरी युनिटी जर्नल प्रकाशन गरेको हो।









































