नयाँदिल्ली , २२ फरवरी, २०२०
अब उत्तेजक पहिरनमा फेसबुक लाइभ गसरसामानहरूको विज्ञापन तथा बिक्री गर्ने कार्य कम्बोडिया सरकारले रोक लगाएको छ । तर सरकारको यस्तो कदमलाई महिला अधिकारवादीहरूले खरतनाक र आधारहीन भएको आरोप लगाएका छन् ।
कम्बोडियाको महिला आयोगलाई निर्देशन दिँदै प्रधानमन्त्री हुनसेनले भनेका छन्, ‘तपाईंहरू त्यसरी लाइभ गरिरहेका महिलाहरूकहाँ जानुहोस् र उनीहरूले उत्तेजक कपडाको साटो सामान्य पहिरन नलगाएसम्म लाइभ स्ट्रिमिङ्ग बन्द गराउनुहोस् । बन्द गराउनुहोस् ।’
कपडा तथा ब्युटी प्रडक्टहरूको प्रचार तथा बिक्रीका लागि उत्तेजक कपडा लगाएका युवतीहरू फेसबुकमा आएर लाइभ गर्ने प्रचलन ह्वात्तै बढेपछि कम्बोडिया सरकारले त्यस्ता फेसबुक प्रयोगकर्ताहरूमाथि प्रतिबन्ध लगाउन सुरु गरेको थियो । उत्तेजक पहिरनमा फेसबुकमा लाइभ आएर व्यापार गर्ने कार्यले देशको संस्कृतिमा आघात गरेको दाबी त्यहाँका प्रधानमन्त्री हुन सेनले गरेका छन् ।
यसरी उत्तेजक पहिरनमा फेसबुक लाइभ गर्ने कार्य देशको संस्कृति र परम्पराको उल्लंघन भएको र यसले महिलाविरुद्ध यौन दुव्र्यवहार र हिंसालाई बढावा दिएको दाबी प्रधानमन्त्रीको छ ।
कम्बोडियन पुलिसले बुधबार आफ्नो फेसबुक पेजमा एउटा भिडियो पोष्ट गरेको छ । जसमा एकजना महिलाले आफुले उत्तेजक पहिरनमा फेसबुक लाइभ गरेर गलत काम गरेको र संस्कृति र महिलाको मर्यादामा आघात पुर्याएको भन्दै क्षमा मागेकी छन् ।
यस विषयमा फेसबुक कम्पनीले भने कुनै प्रतिक्रिया जनाएको छैन । एम्नेष्टी इन्टरनेशनलले कम्बोडियाका प्रधानमन्त्रीको यस्तो कदम पीडितमाथि उल्टै आक्षेप लगाउने खतरनाक कदम भएको बताएको छ । यस्तो कदमले महिलाविरुद्धको हिंसालाई बढावा दिने र लैंगिक हिंसाबाट बचेकाहरूलाई झनै पीडा दिने एम्नेष्टीको भनाइ छ ।
कम्बोडियाली महिला अधिकारवादी संगठनहरूले पनि सरकारको यस्तो कदमको विरोध गरेका छन् ।
स्मरण रहोस् कम्बोडियामा महिलामाथि बलात्कारको तथ्यांक निकै डरलाग्दो छ । सन् २०१३ मा राष्ट्रसंघले गरेको एक अध्ययन अनुसार २० प्रतिशत कम्बोडियाली पुरुषहरूले आफूले महिलामाथि बलात्कार गरेको बताएका छन् ।









































