नयाँदिल्ली, २६, फरवरी २०२०
भारतलाई अर्बौं डलरको हतियार बिक्री गरेकोमा अमेरिकाका डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका प्रबल दाबेदार अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले आलोचना गरेका छन् ।
उनले ट्वीट गर्दै भने, ‘ट्रम्पले भारतलाई तीन अर्ब डलरको हतियार बेचेर डिफेन्स कम्पनीहरू रेडियान, बोइङ र लकहीडलाई धनी बनाए जबकि भारतसँग मिलेर उनले जलवायु परिवर्तनमा काम गर्नुपर्थ्यो । वायु प्रदूषण घटाउन, प्राकृतिक ऊर्जा र पृथ्वीलाई बचाउन हामीले मिलेर काम गर्न सक्नुपर्थ्यो ।’
७८ वर्षीय स्यान्डर्सले ट्रम्प र उनका नीतिलाई लगातार आलोचना गर्दै आएका छन् । यस वर्षको नोभेम्बर महिनामा हुन लागेको अमेरिकाको राष्ट्रपति चुनावमा स्यान्डर्स नै ट्रम्पको प्रतिद्वन्द्वी बन्ने अनुमान गरिएका छन् ।