काठमाडौं, २८ फरवरी, २०२०
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभा सदस्य पदमा उपाध्यक्ष बामदेव गौतम नै जाने बताउनुभएको छ ।
अध्यक्ष प्रचण्डले सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजान पार्टीले सिफारिस गरेको र त्यो सिफारिस सर्वसम्मत भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उक्त निर्णय मान्ने बताउनुभएको छ ।
राष्ट्रिय सभामा एउटा सिट बाँकी छ । त्यो क्याविनेटबाट प्रस्ताव गर्ने र राष्ट्रपतिबाट मनोनयन गर्ने । यसमा सचिवालयको सर्वसम्मत निर्णय अनुसार वामदेव गौतमलाई पठाउने भन्ने सुझाव सरकारलाई दिएको छ’, प्रचण्डले भन्नुभयो ।
सचिवालयको निर्णय नै आधिकारिक भएको र पार्टीका प्रवक्ता र महासचिवले उक्त निर्णय सार्वजनिक गरेको प्रचण्डले बताउनुभयो । प्रधानमन्त्रीले उक्त निर्णय मान्नुहुन्न नि भन्ने प्रश्नमा प्रचण्डले भन्नुभयो, ‘प्रधानमन्त्रीजीले मान्नुहुन्छ । तपाईंहरुले एकदुई दिनमा थाहा पाउनुहुन्छ । उहाँले मान्नैपर्छ, मान्नुहुन्छ । प्रचण्डले गौतमको नाम सिफारिस नगर्ने भन्ने कुरा आफुले कल्पना समेत गर्न नसक्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले काँग्रेस नेता शेखर कोइराला लगायतलाई भेटघाट गर्नु सामान्य र त्यो सबै नेताले गर्ने गरेको भन्दै त्यस्ता भेटघाटलाई अन्यथा लिन नहुने बताउनुभयो ।









































