नयाँ दिल्ली 28 फरवरी 2020/ रूबेन गुरूङ
दिल्लीमा सक्रिय नारीहरूको सामाजिक संगठन “गोर्खा मदर्स वेलफेयर एशेसिएसन सोसाइटी”-ले बिहिबार नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)-मा मेगा ब्लड डोनेशन क्याम्प सम्पन्न गरेको छ। बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म सञ्चालन गरिएको क्याम्पमा 400 बढी रक्तदाताहरूले रक्तदान गरेका थिए। विभिन्न सामाजिक कार्यहरू गर्दै आएको सोसाइटी यसअघि निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरेको थियो।
सोसाइटीले भारतको विभिन्न ठाउँ र छिमेकी मुलुकहरू नेपाल, भूटान र बर्माबाट रोजगारका लागि दिल्ली आउने नेपालीभाषीहरूलाई आवश्यक सहयोग गर्दै आइरहेको छ। एम्स अस्पतालको विशेष सहयोगमा सम्पन्न यस क्याम्पमा दिल्लीभरीका गोर्खाली संस्था-संगठनहरूले पनि सहयोग गरेको थियो। गोर्खाहरूले आयोजना गरेको यो अहिलेसम्मकै ठूलो क्याम्प थियो।
दिल्ली पुलिसका उत्तरपूर्वी प्रभारी रबीन हिबुका अनुसार यो क्याम्प अत्यन्त महत्वपूर्ण रहेको थियो। सर्वप्रथम रक्तदान विकाश छेत्रीले गरेका थिए भने अन्तिम रक्तदान विकाश लोहनीले गरेका थिए। यसमा नवीन लिम्बू र अञ्जली शर्मा भुजेलको संयोजन पनि महत्वपूर्ण रहेको थियो भने सोसाइटीकी संस्थापिका प्याट्रिशिया निकोलस, अध्यक्षा अनु शिल्पकार, पूर्व सचिव नोमी खाती, अन्य सदस्यहरूलगायत रेबेका राई र मीना लिम्बू, लोपसाङ लामा, केदार खवास, रबर्ट लेप्या र अरूहरूको पनि भूमिका विशेष रहेको थियो।
क्याम्पमा पानी, चिया-खाजाको व्यवस्था पनि दिल्लीभरीका गोर्खाली संस्था-संगठन र व्यक्तिगत योगदानबाट गरिएको थियो। सोसाइटीकी अध्यक्षा अनु शिल्पकारले यो क्याम्पलाई सफल पार्न सहयोग पुऱ्याउने दिल्लीभरीका गोर्खाली संस्था-संगठन र व्यक्तिगत रूपमा सघाउनेहरूप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो।









































