मोरङ, २९ फरवरी, २०२०
विराटनगर मोरङमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पथरीशनिश्चरे नगरपालिका–२ जय चौकस्थित पूर्व–पश्चिम राजमार्गमा रोकेर राखेको गोरु लोड गरिएको ट्रकमा अर्को ट्रक पछाडिबाट ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८०९१ नम्बरको ट्रकले सडकमा रोकेर राखेको गोरु लोड गरिएको ना ८ ख ६७ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । दुर्घटनामा ठक्कर दिने ट्रकका चालक चितवन भरतपुर नगरपालिका–११ का २८ वर्षीय अजय अधिकारी र सहचालक भरतपुर–१ कै ३० वर्षीय अंकित घर्तीमगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले जानकारी दिए ।
उनका अनुसार चालक अधिकारीको घटनास्थलमै र सहचालक घर्तीमगरको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक नवलपरासीबाट सात सय ५० काटुन गोर्खा स्ट्रङ वियर लिएर झापाको दमकतर्फ गएको खुलेको छ । डीएसपी गिरीले ठक्कर दिने ट्रक तीव्र गतिमा रहेको र नियन्त्रण गुमाएर दुर्घटना भएको जानकारी दिए । लामो रुटमा एक जना मात्रै चालकले कुदाएको र चालकको निद्रा नपुगेका कारण अगाडि रहेको अर्को ट्रक ठम्याउन नसक्दा पनि ठोक्किएको हुन सक्ने उनको भनाइ छ ।
गोरु सर्लाहीको लालबन्दीस्थित पशु हाटबजारबाट खरिद गरेर ल्याइएको खुलेको प्रहरीको भनाइ छ । ‘प्रारम्भिक अनुसन्धानबाट प्रक्रिया पूरा गरेरै झापाको घैलाडुब्बातर्फ गोरु लिएर गएको खुलेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘तर तस्करी गरेर भारततर्फ कटाउने योजना बनाएर पनि ल्याइएको हुन सक्छ ।’ यस विषयमा गम्भीर रुपमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।









































