अमेरिका, २९ फरवरी, २०२०
अमेरीकाले २०२१ का लागि कामदार (एचवान बी भिसा) खुल्ला गरेको छ । आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र आवेदकले अनलाइन दर्ता गराउनु पर्नेछ । नेपाली समय अनुसार फागुन १८ गते देखि चैत्र ७ गते दिउँसो १२ बजेदेखिसम्म दर्ता गर्ने समय तोकिएको छ ।
हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ । उक्त नम्बर रजिस्ट्रेशन ट्रयाक गर्ने प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ । तर उक्त नम्बर केस नम्बर नभएका कारण युएससीआईएसको केस स्टाटस हेर्न भने प्रयोग हुनेछैन ।कामदार भिसा एचवानबीमा दर्ता गर्नका लागि १० डलर दर्ता शुल्क तिर्नुपर्नेछ ।
गत नोभेम्बरमा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अन्तिम नियम प्रकाशित गर्दै कामदार भिसा एचवानबीका लागि दर्ता शुल्क १० डलर लिने जानकारी दिएको थियो । यो बर्षदेखि अमेरिकी सरकारले एचवानबी कामदार भिसामा नयाँ नियम ल्याएको हो । विद्युतीय रुपमा दर्ता हुने बाहेक अरु नियम सन् २०१९ देखि नै लागु गरिएको थियो । यसैबर्षदेखि लागु नयाँ नियमले अमेरिकन डिग्री नलिएका विदेशी कामदारलाई अमेरिका आउन थप मुस्किल बनाएको छ । तर अमेरिकन डिग्री होल्डरका लागि भने विगतको तुलनामा निकै सहज बनाएको छ । अमेरिकी सरकारले अमेरिकामा नै डिग्री लिएकाहरुलाई प्राथमिकता दिनेगरी कामदार भिसाको नयाँ नियम ल्याएको हो ।एचवानबीमा दर्ता भएका श्रमिकको आवेदनहरुलाई लोटरीको माध्यमबाट छनोट गरिने छ । त्यसपछि छानिएका आवेदनहरुमध्येबाट थप अन्य प्रक्रिया सुरु हुने बताइएको छ ।श्रमिकले भने भिसाका लागि भने रोजगारदाता कम्पनी खोजेर आवेदन दिनुपर्ने भएको छ । आवेदनबाट छनौटमा परेका श्रमिकले भने अमेरिकी रोजगारदाता कम्पनीमा सिधै सम्पर्क गर्ने सकिने जनाइएको छ ।









































