काठमाडौँ, १ मार्च, २०२०
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण आगामी बुधबार हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले उक्त जानकारी गराउनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार नै महाराजगंज स्थित त्रिभुवन शिक्षण अस्पतालमा भर्ना हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण हुने भएपछि सचिवालय बैठकमा अन्य कुनैपनि विषयमाथि छलफल नभएको उहाँले बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीको मिर्गौलाको सफल प्रत्यारोपण र स्वास्थ्य लाभको लागि सचिवालय बैठकले कामना गरेको बताउनुभयो ।









































