नयाँ दिल्ली, 3 मार्च
गोर्खाहरूको विभिन्न समस्याहरू समाधानका लागि विभिन्न समयमा विभिन्न पार्टी र सङ्गठनहरूले केन्द्रीय सत्तारूढ सरकारका मन्त्री तथा नेताहरूलाई ज्ञापन पत्र चढाउँदै आइरहेका छन। यसै क्रममा बीजेपी मुख्यालयमा, दिल्लीमा आज गोर्खा जनमुक्ति मोर्चाको शीर्ष टोलीले बीजेपीका राष्ट्रिय महासचिव लगायत सिक्किम राज्यका प्रभारी राम माधवलाई भेट गरि गोर्खा जातिको दीर्घकालीन मागको स्थायी राजनैतिक समाधान अनि गोर्खा जातिभित्र छुटेका ११ जात गोष्ठीलाई जनजातिको मान्यता दिनुपर्ने विषयमा एउटा रिमाइण्डर पत्र बुझाउँदै यस विषयमा यथाशीघ्र पहल गर्न दवाब दिइएको छ ।

यस विषयमा सबैसित कुरा भएको अनि संकल्प पत्रमा उलेखित जति पनि विषयहरु छ, ती सबै समयमै पूरा गर्ने वचन दिदैं धैर्य भएर बस्न अनि गोर्खा जातिले अब न्याय पाउने समय आएको टोलीका सदस्यहरुलाई आश्वासन दिइएको छ । टोलीमा उर्मिला रुम्बा, डा० बिनु सुन्दास अनि अनिल लोप्चनको उपस्थिति रहेको थियो ।









































