नयाँदिल्ली, ५ मार्च, २०२०
भारतले अत्यावश्यक औषधिको निर्यातमा तत्कालका लागि लगाएको रोक खुलाउन नेपालले पहल थालेको छ । भारतले कोभिड–१९ को संक्रमण बढ्न सक्ने आकलन गर्दै मंगलबार मात्र पारासिटामोल लगायत २६ वटा अत्यावश्यकीय औषधिको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो ।
भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयको उक्त निर्णयपछि ती औषधि निर्यात गर्न सरकारको इजाजत लिनुपर्नेछ ।
भारतले २६ प्रकारका औषधि र तिनका कच्चापदार्थको निर्यात नियन्त्रण गर्ने बताइरहँदा त्यसले नेपालमा अत्यावश्यक औषधिहरूको अभाव हुनसक्ने ठानिएको छ ।तर अधिकारीहरूले कम्तीमा तीन महिनासम्म पुग्ने मौज्दात देशभित्र उपलब्ध रहेको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको जनाएका छन्।
भारतीय औषधि निर्माताहरू पनि आफ्नो देशमा बन्ने औषधिको लगभग ७० प्रतिशत हिस्सा कच्चा पदार्थका लागि कोरोनाभाइरसको सङ्क्रमण सुरुमा फेला परेको चीनमा निर्भर रहने गरेका छन् ।









































