काठमाडौँ, ५ मार्च, २०२०
हाम्रो नेपाली संस्कारमा नमस्कार, प्रणाम अभिवादन गर्ने यो पूर्वीय संस्कृति हो । ठूलाको आदर र सम्मानको सूचक हो नमस्कार आधुनिकतासँगै नमस्कार गर्ने संस्कार हराउँदै गयो– हाई, हेलो र ह्यान्डसेकजस्ता पश्चिमी संस्कार प्रचलनमा आए ।
यतिबेला विश्वभर कोरोना भाइरसको त्रास छ । घर, कार्यालय तथा स्कुलमा मास्क अनिवार्य गरिएको छ । संक्रमणको त्रासले एकअर्कालाई स्पर्श नगर्न र बिरामीबाट टाढै रहन सबै सचेत छन् ।
हात मिलाउन नमिल्ने भएपछि चीनमा खुट्टा जोडेर अभिवादन गरेको भिडियो भाइरल भयो । चिनेजानेका आफन्त, साथीभाइ, सहकर्मीलाई भेट्दा अभिवादन गर्ने प्रचलन सबैतिर छ । अभिवादनको शैली जाति, भाषा, समुदाय, भूगोलअनुसार भिन्नभिन्न हुन्छ ।
नेपाली समाजमा ज्यादै नजिकका सम्बन्धमा मात्र हात मिलाउने र अंगालो मार्ने चलन छ । आमा–बा, हजुआमा–हजुरबा, दाइदिदी आदि मान्यजनलाई शिर झुकाएर खुट्टामा ढोग्ने गरिन्छ ।
सनातन धर्ममा नमस्कार संस्कारलाई सबैभन्दा उत्तम अभिवादन मानिएको छ। भारतका जग्गी वासुदेव अर्थात् सद्गुरुका अनुसार हाम्रो शरीरले स्पर्शलाई लामो समयसम्म याद राख्छ। त्यसमा सकारात्मक र नकारात्मक दुवै विचार हुन्छन्। नमस्कारले आत्मादेखि गरेको आदर बुझाउँछ। नमस्कारले दुई व्यक्तिबीचको सम्बन्धलाई आत्मासँग जोड्छ।
नमस्कार गर्नुको वैज्ञानिक कारण पनि छन् । दुवै हात जोड्दा औंलामाथि जोड पर्छ र एक प्रकारको एक्युप्रेसर हुन्छ। यसले हाम्रो दिमाग, कान र आँखा सक्रिय बनाउँछ। आफू सामुन्ने आएका व्यक्तिलाई लामो समयसम्म याद गर्न सकिन्छ ।
पूर्वीय संस्कृतिमा सूर्य नमस्कार गरी योग गर्ने चलन छ। बिहान व्यायाम गर्दा शरीरले प्रशस्त भिटामिन डी पाउँछ । नमस्कारले हामीभित्र भएको क्रोध र अहंकार पनि हटाउँछ ।









































