काठमाडौं, ६ मार्च, २०२०
कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालमा नदेखिएकाले यसबाट त्रसित नहुन तर, सचेत र सतर्क रहने गरी सन्देश प्रवाह गर्न रेडियो नेपाललाई सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले आग्रह गरेका छन् ।
सर्वसाधारण मानिससम्म जनसचेतनामूलक सूचना प्रचार सामग्री प्रसारण गर्न उनले आग्रह गरेका हुन् । मन्त्रीले रेडियो नेपालको प्रसारण सामग्री र पहुँचलाई मुलुकका ७७ वटै जिल्लामा प्रभावकारी रुपमा र्पुयाउने गरी योजना बनाउनसमेत मन्त्री खतिवडाले निर्देशन दिएका छन् ।
मन्त्री डा. खतिवडाले रेडियो नेपालको आधुनिकरणको प्रयास सकारात्मक रहेको भन्दै प्रशारणको नियमित अनुगमन गरी समय अनुरुप परिमार्जन गर्दै देशैभर सुनिने रेडियो प्रशारण सेवालाई प्रभावकारी बनाउन निर्देशन दिए ।
उनले रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थानलगायत राज्यका सञ्चारमाध्यम बीचको अन्तरसम्बन्ध बलियो हुनुपर्ने उल्लेख गरे । उक्त अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री समक्ष रेडियो नेपालले गरिरहेका काम कारवाही र आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।









































