नयाँ दिल्ली, 7 मार्च
प्रवासी नेपाली एकता मंच भारतले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन भारतमा रहेका प्रवासी नेपाली जनसमुदायहरूलाई अपील गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै प्रवासी नेपाली एकता मंच भारतले छिमेकी राष्ट्र भारतमा पनि कोरोना भाइरस (कोभिड–१९)को त्रास दिन प्रतिदिन बढ्दो रहेकाले संक्रमणबाट जोगिन आग्रह गरेको हो ।
अध्यक्ष संयोजक लोकनाथ भण्डारी र सह-संयोजक इश्वरी भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ “सङ्गठन प्रवासी नेपाली एकता मंच भारत, प्रवासी जनसमुदायहरू, नागरिकप्रति उत्तरदायी, समाजको संवाहकको रुपमा विम्बित भएकाले कोरोना भाइरसको सम्भावित असरलाई दृष्टिगत गर्दै यसबाट हुनसक्ने जोखिम न्यूनिकरणका लागि सचेत रहन र संगठनबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अत्यावश्यक काम बाहेक, भेला समारोहमा सहभागी नहुन र अनावश्यक यात्रा नगर्न अनुरोध गर्दछौ।”
नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट बच्नका लागि पारिवारिक जमघट, मेला महोत्सव, जात्रा पर्वजस्ता कार्यक्रममा सरिक नहुन र स्थगन गर्न अनुरोध गरेको र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि स्वास्थ्य आपतकालको घोषणा गरेकोले सतर्कता अपनाउन आग्रह गरेको हो ।
चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) अहिलेसम्म ९० मुलुकमा फैलिइसकेको र यसबाट संक्रमित हुनेको संख्या ९४ हजार कटिसकेको अवस्थामा यसको त्रास संसारभर दिन प्रतिदिन बढेको विज्ञप्तिमा भनिएको छ ।









































