हरियाणा, 10 मार्च 2020
“समानताको पुस्ता, अन्त्य गरौँ हिँसा, विभेद र असमानता” मुल नारासहित प्रवासी नेपाली संघको हिसार नगर महिला विभागले 110 औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस भव्य रूपमा मनाएको छ। हिसार नगर समितिको सहयोगमा प्रवासी नेपाली संघको हिसार नगर महिला विभागले हरियणाको हिसारस्थित कुमार धर्मशालामा विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो।

सीता भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन देवी अधिकारीले गर्नुभएको थियो भने संघका केन्द्रीय कार्यसमिती सदस्य गिता घिमिरे प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा अतिथिको रूपमा अमर केसी, ओमबहादुर पुन, रामसिंह केसी, बाबुराम खनाल, सुमित्रा अधिकारी र लिलापती न्यौपाने उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा लक्ष्मी ज्ञवालीले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिता घिमिरेले नारी दिवसका अवसरमा आयोजित यस कार्यक्रमले सम्बन्धित सबै पक्षहरूलाई शिक्षा प्रदान गरेको बताउनुभयो। उहाँले महिला अधिकार गीत र चर्को भाषणबाट नभएर अवसर र जिम्मेवारीबाट प्राप्त गर्न वा दिलाउन सकिने बताउँदै आजको दिनमा महिलाहरूको प्रतिभाले आफुलाई गौरवान्वित महसुस गराएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा सामाजिक क्षेत्रमा पनि सबैको प्रगतिको लागि कामना गर्नुभयो।

कार्यक्रममा महिलाहरू बीच प्रतिभा खोजी कार्यक्रम अन्तर्गत मन्तव्य प्रतियोगिताको आयोजना गरिएको थियो भने विजेताहरूलाई पुरस्कार समेत प्रदान गरिएको थियो। कार्यक्रममा प्रवासी नेपालीहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूलगायत नेपाली जनसमूदायको बाक्लो उपस्थिति रहेको थियो।









































