काठमाण्डौ, 11 मार्च 2020
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थानीय जनताको जनजीवनमा सकारात्मक प्रभाव पार्न नसके लुम्बिनी हुनुको अर्थ नहुने बताउनभुएको छ। लुम्बिनी विकास कोष परिषदको बैठकमा बोल्दै मन्त्री भट्टराईले लुम्बिनी क्षेत्रका स्थानीयहरुको आर्थिक र सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्न सकिएमात्रै लुम्बिनी हुनुको अर्थ हुने बताउनुभयो। अब लुम्बिनी भनेर मात्रै नपुग्ने भएकाले बृहत्तर लुम्बिनीको अवधारणाका साथ अगाडी बढेको उहाँले बताउनुभयो। लुम्बिनी घुम्न आउने पर्यटक र अध्ययन गर्न आउनेहरुले कम्तिमा पनि 3 दिनदेखि हप्तादिनसम्म बस्ने वातावरण भएमा त्यहाँका स्थानीयको आय शक्ति बढ्ने र रोजगारीको सिर्जना हुने उहाँले बताउनुभयो। ‘बृहत्तर लुम्बिनी भयो भने मात्रै त्यहाँको आर्थिक, सामाजिक जीवनलाई लुम्बिनीले प्रभाव पार्ने बताउँदै मन्त्री भट्टराईले त्यहाँका स्थानीयको आय तथा क्रयशक्ति नबढ्दा, उनीहरुको उत्पादन नबढ्दा, उनीहरुले रोजगारी नपाउँदा र कुनै पनि आर्थिक कृयाकलापहरू उनीहरूसँग सम्बन्धित नहुँदासम्म लुम्बिनी हुनुको औचित्य नहुने तर्क गर्नुभयो।
मन्त्री भट्टराईले बृहत्तर लुम्बिनीले त्यस क्षेत्रको पर्यटन व्यवसाय र कृषि उत्पादनमा वृद्धि गर्नुका साथै अन्य कुरामा पनि सहयोग पुग्ने बताउनुभयो। लुम्बिनी क्षेत्रको भ्रमण र अध्ययन गर्न आउनेहरु आफुले चाहेजति समय त्यहाँ बस्न सक्ने र अध्ययन गर्न सक्ने वातावारण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। लुम्बिनी क्षेत्रको विकास निर्माण, उत्खनन र त्यसलाई एक अर्कासँग जोड्ने काम द्रुत गतिमा अगाडी बढ्ने उहाँले बताउनुभयो।









































