काठमाण्डौँ, 11 मार्च 2020
संसदीय सुनुवाई विशेष समितिले चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डे विरुद्ध उजुरी आह्वान गरिएको छ। बुधबार सिंहदरबारमा बसेको समिति बैठकले पाण्डे विरुद्ध उजुरी दिन सरकारी सञ्चार माध्यममा 10 दिने सूचना निकाल्न निर्देशन दिएको हो। समिति सभापति लक्ष्मणलाल कर्णले मन्त्रिपरिषद्बाट चीनको आवासीय र उत्तर कोरिया तथा मंगोलियाको गैरआवासिय राजदूतका लागि प्रस्ताव गरिएका पाण्डे विरुद्ध उजुरी आह्वान गरिएको बताउनुभयो। समिति सदस्यहरुलाई पाण्डेको व्यक्तिगत विवरण गरिएको र गुनासो तथा सूचना संकलनका लागि उजुरी आह्वान गरिएको उहाँले बताउनुभयो।
गत फागुन 18 गते बसेको मन्त्रिपरिषद बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको थियो। पौडेललाई फिर्ता बोलाएर पाण्डेको नाम सिफरिस भएको थियो। समितिले नाम अनुमोदन गरेपछि मात्रै पाण्डेको राजदूत नियुक्तिको बाटो खुल्ने छ।









































