दार्जीलिङ, 11 मार्च 2020/ कायेश अन्सारी
दार्जीलिङ पहाडको मल्लीमा मङ्गलबार अन्धाधुन्ध गोलीबारी गर्ने कालिमपोङ नगरपालिका वार्ड नम्बर 1 का काउन्सिलर कुनाल प्रधान अझै फरार रहेका छन्। गुण्डा नाइकेको छवि रहेका कुनाल प्रधानले हिजो गोलीबारी गर्दा दुई जना घाईते भएका थिए। उनिहरूलाई उपचारका लागि सिलिगुडी र कालिमपोङ अस्पताल पठाइएको थियो। जबरजस्ती चन्दा संकलन जस्ता उनको आतङ्कले ग्रस्त स्थानीयहरूले प्रधानलाई 24 घण्टाभित्र पक्राउ गर्न अल्टिमेटम दिएका छन्। यदि 24 घण्टाभित्र कुनाल प्रधान पक्राउ नगरिए राष्ट्रिय राजमार्ग 31 अवरूद्ध गर्ने चेतावनी स्थानीयले दिएका छन्। अर्कोतर्फ पुलिसले भने कुनाल प्रधानका केही समर्थकहरूलाई हिरासतमा लिएको छ।
कुनाल प्रधानलाई विनय खेमाको गोर्खा जनमुक्ति मोर्चाले पार्टीबाट निष्कासित गरेको छ। आफ्नो आचरणकै कारण पार्टीको तीन महिने निलम्बनमा रहेका प्रधानलाई गोलीबारीको घटनापछि मोर्चाले पार्टीबाट निकालेको जनाएको छ।
यसैबीच गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले हिजो मल्लीमा भएको गोलीकाण्ड प्रति विरोध जनाएको छ। आज दार्जीलिङमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै दार्जीलिङ शाखा समिति अध्यक्ष अजय एडबर्डले घटनाको निन्दा गर्दै आरोपी जो-कोही भएपनि उन्मुक्ति पाउन नहुने बताउनुभयो।









































