नयाँ दिल्ली, 11 मार्च
मंगलवार काँग्रेस पार्टी परित्याग गर्नुभएका भारतीय काँग्रेसका वरिष्ठ नेता ज्योतिरादित्य सिन्धियाले भारतीय जनता पार्टीमा प्रवेश गर्नुभएको छ । मध्य प्रदेशको राजनीतिमा शक्तिशाली नेताका रुपमा रहनुभएका ज्योतिरादित्य सिन्धियाको भाजपामा प्रवेश हुनुलाई काँग्रेसको ठूलो विफलताको रुपमा हेरिएको छ ।
बुधवार नयाँ दिल्लीस्थित पार्टी मुख्यालयमा भाजपाका अध्यक्ष जेपी नड्डाले ज्योतिरादित्यलाई पार्टीमा प्रवेश गराउनुभएको हो । समारोहमा बोल्दै ज्योतिरादित्यले प्रधानमन्त्री नरेन्द्र मोदीको हातमा भारतको भविष्य सुरक्षित रहेको बताउनुभयो । उहाँले वर्तमान समयमा काँग्रेस पुरानो काँग्रेस जस्तो नरहेको भन्नुभयो । उहाँले आफुले मध्य प्रदेशका लागि देखेको सपना पछिल्लो 18 महिनामा अस्तव्यस्त भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा काम गर्न आशावादी रहेको बताउनु भएको छ । समारोहमा बोल्दै भाजपा अध्यक्ष जेपी नड्डाले ज्योतिरादित्यको पार्टी प्रवेशले पारिवारिक सदस्य पार्टीमा आएको महसुस भएको भन्नुभयो । उहाँले ज्योतिरादित्यले पार्टीको मुख्य नेताको रुपमा काम गर्ने पनि बताउनुभयो ।









































