काठमाण्डौँ, 13 मार्च 2020
भारतीय विदेश सचिव र नेपालका लागि भारतीय राजदूत परिवर्तनको असरले नेपाल भारत सीमा विवाद सम्बन्धि वार्ता अनिश्चित बनेको छ। नेपालले दुई पटक कुटनीतिक नोट पठाएर वार्ताका लागि आग्रह गरेपनि भारतले परिस्थिति अनुकुल नभएको जवाफ पठाएको छ। परराष्ट्रमन्त्रालयका सचिव शंकरदास बैरागीले भारतीय विदेश सचिव र नेपालका लागि भारतीय राजदूत फेरिएपछि नेपालले प्रस्ताव गरेको मितिमा वार्ता हुन नसकेको बताउनुभयो। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सचिव बैरागीले भारत वार्ताका लागि सकारात्मक भएपनि दुबै देशको अनुकुल समयको पर्खाइ रहेको बताउनुभयो।
सचिव बैरागीले यो वर्ष नेपाल भारत सीमामा १ सय ५५ सीमास्तम्भ निर्माण भएको बताउनुभयो। यस्तै १५ स्तम्भ मर्मत र ३९ ठाउँमा सर्भे भएको उहाँले बताउनुभयो । नेपाल भारत संयुक्त प्राधिक समितिले विभिन्न ४ टोली बनाएर सीमा निरीक्षण गरेर तथ्याङ्क समेत संकलन गरेको उहाँले बताउनुभयो।
समिति बैठकमा सांसद भीम रावलले सरकारी अधिकारीहरुले नक्सा सार्वजनिक गर्ने सम्बन्धमा दिएको जवाफप्रति आक्रोश व्यक्त गर्नुभएको हो।
सांसद पुष्प भूषालले सीमा विवाद सम्बन्धि समिति छलफलमा मन्त्रि सहभागिता हुनुपर्ने उल्लेख गर्दै सर्वदलिय सहमति भएपनि कुटनीतिक नोट पठाउने बाहेक अरु काम गर्न नसेको बताउनुभयो। भारतसँग मात्रै सीमा समस्या नरहेको र चीन तथा भारत दुबै देशसँग सरकारले कुटनैतिक वार्ता गरी समस्या समाधान गर्नुपर्ने उहाँले बताउनुभयो।
बैठकमा समिति सभापति पवित्रा निरौला खरेलले राजनीतिक दलहरु देखि लिएर सबै नेपालीको साथ र समर्थन पाएको अवस्थामा सरकारले समस्या सामाधानका लागि तिव्र गदम चाल्नुपर्ने बताउनुभयो। सरकारले समस्या समाधानका लागि थुप्रै प्रयास गरेको भएपनि गर्न सक्ने जति नगरेको उहाँको भनाई थियो। गत नोभेम्बर २ मा भारतले जारी गरेको आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेपछि यसको विरोध हुँदै आएको छ।









































