काठमाण्डौँ, 13 मार्च 2020
दोस्रो पटक मृगौलाको प्रत्यारोण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। गत हप्ताको बुधबार त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गराउनुभएका ओली शुक्रबार साँझ डिस्चार्ज हुनुभएको हो। चिकित्सकहरुले प्रधानमन्त्री ओलीको भाइटल र ल्याब सूचकहरु राम्रो अवस्थामा रहेको बताएका छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले बताउनुभयो। प्रधानमन्त्रीको उपचार खर्च अनुमानित 5 देखि 6 लाख लागेको पनि उहाँले जानकारी दिनुभयो। अरु सर्वसाधारण नागरिकको जति नै प्रधानमन्त्रीको उपचार खर्च आएको पनि उहाँले बताउनुभएको छ।
डिस्चार्जपछि पनि प्रधानमन्त्री नियमित फलोअफमा रहने उहाँका नीजि चिकित्सक डा. दिव्यासिंह शाहले विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ। आवश्यक सतर्कताका साथ आफ्नो नियमित सबै काम गर्न सक्ने अवस्थामा प्रधानमन्त्री भएपनि नियमित चिकित्सकको निगरानीमा हुनुहुनेछ।
प्रधानमन्त्री डिस्चार्ज हुनुअघि मन्त्रीहरु अस्पताल पुगेका थिए। मृगौला प्रत्यारोपण गराएको 10-औँ दिन डिस्चार्ज हुनुभएका ओलीलाई उहाँकी भाञ्जी समीक्षा संग्रौलाले मृगौला दिनुभएको थियो। संग्रौला यसअघि नै डिस्चार्ज हुनुभएको छ। प्रधानमन्त्री ओलीको 12 वर्षअघि भारतको एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो।









































