अछाम,14 मार्च 2020/ हिम शाह
सरकारले अछाम सहित सुदूरपश्चिमका 30 वटा स्वास्थ संस्थालाई 15 शैय्याको अस्पतालमा स्तरोन्नति गर्ने भएको छ। जसमा अछामका 2, दार्चुलाका 5, बझाङ्गका 4, डडेल्धुराका 2, डोटीका 5, बैतडीका 2 , बाजुराका 4, कैलाली र र कञ्चनपुरका 3/3 स्वास्थ्य संस्था रहेका छन्।
अछामको बान्नीगढी जयगढ गाउँपालिकाका जयगढ स्वास्थ्य चौकी र ढकारि गाउँपालिकामा रहेको ढकारि स्वास्थ्य चौकीलाई स्तरोन्नती गरिन लागिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार यस वर्ष सुदूरपश्चिमका 30 स्वास्थ्य संस्था छनौट भएको स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिनुभयो।
चालु आर्थिक वर्षमा सुदूरपश्चिमका 30 स्वास्थ्य संस्था छनौट परेपनि अगामी वर्षहरुमा अन्य संस्थाहरुलाई पनि स्तरोन्नती गरिने उहाँले बताउनुभयो। उहाँले राष्ट्रिय स्वास्थ्य निति पारित भइसकेकोले जग्गा उपलब्ध हुने स्वास्थ्य संस्थालाई स्तरोन्नती गरिएको बताउनुभयो।
यस वर्ष देशभर 2 सय 36 पालिकाका स्वास्थ्य संस्थालाई 15 शैय्याको अस्पतालमा स्तरोन्नती गर्न लागिएको हो भने गत वर्ष 2 सय 51 पालीकाका स्वास्थ्य संस्थालाई स्तरोन्नती गर्ने निर्णय गरेको थियो। स्तरोन्नतीपश्चात् विशेषज्ञ डाक्टरसहित सेवा प्रदान हुने जनाईएको छ।









































