नयाँदिल्ली, १४ मार्च, २०२०
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको परीक्षण आफूले पनि गर्न सक्ने बताएका छन् । उनले आफूमा कोरोना भाइरसको संक्रमणपछि हुने कुनै लक्षण नदेखिएको दाबी गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्ससँग केही दिन अघि भेट गरेका ब्राजिलका एक सरकारी अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको थियो ।
ब्राजिलको सरकारले यसबारेमा पुष्टि गर्दै भनेको छ कि राष्ट्रपति जायर बोलसोनारोका प्रेस सचिव फैबिओ वाजेनगार्टन कोरोना भाइरसबाट संक्रमित छन् ।
उनी ट्रम्पसँगको सामूहिक तस्बिरमा समेत देखिएका छन् । त्यसपछि ट्रम्पबारे पनि कोरोना भाइरसको संक्रमण परीक्षण गराउनुपर्ने प्रश्न उठेको थियो ।
कोरोनाको परीक्षण नगराएकोबारे एक पत्रकार सम्मेलनमा डोनाल्ड ट्रम्पलाई प्रश्न सोधिएको थियो । उक्त प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, ‘यसको परीक्षण नगराउनुको कुनै कारण छैन, म परीक्षण गर्नेछु ।’ ट्रम्पले परीक्षणका लागि विचार गरिरहेको र छिट्टै यसबारे शेड्यूल जारी गर्ने बताएका छन् ।









































