नयाँदिल्ली, १४ मार्च, २०२०
भारतको अयोध्यामा निर्माण हुन लागेको भगवान रामको मन्दिर निर्माणका लागि जनकपुरबाट इँटा पठाईने भएको छ । भारतको उत्तर प्रदेश राज्यअन्तर्गत पर्ने अयोध्यालाई रामको जन्मभूमि मानिन्छ ।“अध्योध्यामा बन्न लागेको राम मन्दिरको लागि जनकपुरबाट इँटा पठाउने तयारी गरेका पर्यटन वर्ष २०२० का संयोजक सुरज वैद्यले बताए ।
राम मन्दिर निर्माणको लागि नेपालले इँटा पठाउँदा त्यसको ऐतिहासिक महत्त्व रहने वैद्यले बताए। “आगामी २२ मार्च मा उत्तर प्रदेश जाने कार्यक्रम तय भएको छ। त्यही बेला त्यहाँका मुख्यमन्त्रीसँग भेटेर नेपालबाट पठाइएको इँटा कहाँ प्रयोग गर्ने भन्ने टुङ्गो लाग्छ”, वैद्यले भने । राम मन्दिर निर्माणको शिलान्याश कहिले गर्ने भन्ने अहिलेसम्म टुङ्गो लागिसकेको भने छैन ।
राम नवमीको अवसर पारेर उक्त मन्दिर निर्माणको थालनी हुन सक्ने भारतको उत्तर प्रदेश सरकारले बताउँदै आएको छ । राम नवमीलाई भगवान रामको जन्मदिनका रूपमा लिइन्छ । यसअघि भारतीय गृहमन्त्री अमित साहले झारखण्डमा सभालाई सम्बोधन गर्दै चार महीनामै राम मन्दिर बनाइसक्ने बताएका थिए ।









































