काठमाण्डौँ 15 मार्च 2020
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उपभोक्ता आफै अनुगमनकर्ता बनेर सरकारलाई सूचना दिनुपर्ने बताउनुभयो। विपदको समयमा बजारमा हुने कालोबजारी र कृत्रिम अभावको विषयमा उपभोक्त आफै अनुगमनकर्ता बनेर सूचना दिने परिपाटीको विकास गर्नुपर्ने उहाँले बताउनुभएको हो। विश्व उपभोक्ता दिवसका अवशरमा आयोजित कार्यक्रममा मन्त्री भट्टले उपभोक्ताले दिएको सूचनाको आधारमा विभागले ऐन नियम अनुसार कारवाही नगरे आफुलाई भन्न पनि आग्रह गर्नुभयो। आफ्नो अधिकारको संरक्षण गर्न जिम्मेवारीबोध गर्दै अधिकारको प्रयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो।
मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बजार अनुगमन, बजार निरीक्षण र उपभोक्ता हक हित संरक्षण गर्ने कुरा सरकारले मात्रै गर्न नसक्ने बताउनुभयो। उपभोक्ता आफै अनुमगनकर्ता बनेर सँगसँगै हुनुपर्ने उहाँले बताउनुभयो। सरकारी क्षेत्रमा काम गर्ने व्यक्तिहरुपनि उपभोक्ता नै भएको उल्लेख गर्दै उहाँले अहिलेका कमीकमजोरीहरु सच्याउँदै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।
राष्ट्रिय उपभोक्त मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्त हितका लागि निर्माण भएका सरकारी संरचना खारेज गर्नुपर्ने बताउनुभयो। उपभोक्ताको हितमा काम गर्न नसकेको स्थानीय तहहरुमा गठन भएका समितिहरुले अनुगमनलाई चासो नै नदिएको भन्दै उहाँले आक्रोश समेत व्यक्त गर्नुभयो। स्थानीय तहका संरचनाहरुलाई दिइएको अधिकारप्रति जिम्मेवार बनाउनुपर्ने उल्लेख गर्दै उहाँले जिम्मेवारीबोध गराउन नसके अधिकार खोस्नुपर्ने बताउनुभयो।
आइतबार वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण विभागले विश्व उपभोक्त दिवस मनाएको छ। उपभोक्त अधिकार, उत्पादनमा गुणस्तरियता, आपूर्तिमा सहजता र उपभोगमा विवेकशीलता भन्ने नाराका साथ दिवस मनाइएको हो।









































