नयाँदिल्ली, १६ मार्च, २०२०
चीनको वुहान शहरदेखि फैलिएको कोरोना भाइरसले अहिलेको स्थितिमा देशभरी नै महामारीको रुपमा फैलिएको छ । कोरोनाभाइरसको संक्रमण रोक्नका लागि कञ्चनपुरको महेन्द्रनगरदेखि भारतको नयाँदिल्ली र देहरादुन बस सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
दुई देशका अधिकारीको सहमतिमा भारतबाट नेपाल र नेपालबाट भारततर्फ चल्दै आएको मैत्री बस सेवा सोमबार (आज)बाट अनिश्चितकालका लागि बन्द गरिएको हो ।
दैनिक रुपमा नेपाल र भारततर्फका गरि १३ वटा बस सञ्चालन हुँदै आएका थिए । जसमा भारतको उत्तर प्रदेश र उत्तराखण्ड परिवहन र नेपालको महाकाली यातायात तथा पवनदूत यातायातका बस सञ्चालन हुँदै आएका थिए ।
महेन्द्रनगर बसपार्कबाट दैनिक भारतको राजधानी नयाँदिल्ली र देहरादुनमा गड्डाचौकी–बनबासा नाका हुँदै नेपाल तथा भारतको बससेवा सञ्चालन हुँदै आएको थियो ।
भारतमा कोरोना भाइरस देखिएपछि सीमामा समेत सतर्कता अपनाइएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता तिर्थराज खनालका अनुसार भारतसँग जोडिएका अन्य रुटको बससेवा भने बन्द भएको छैन ।









































