सिलगढ़ी, 16 मार्च
दार्जीलिङको नर्थ तकभर (सिङला) चिया कमानको बड़ा कोठी (बङ्गलो) आइतबार डढेर खरानी भएको छ । ब्रिटिशकालदेखिको चिया कमानको बड़ा कोठी (बङ्गलो) गत १९ जनवरीबाट बन्द रहेको थियो । तर आइतबार साँझ पाँच बजेदेखि सम्पूर्ण डढेर खरानी भएको हो । दार्जीलिङ शहरबाट दमकलको गाड़ीहरू घटनास्थलमा पुग्दा पुरै (बङ्गलो) डढेर खरानी भइसकेको थियो । सो चिया कमान वितेको ९ जनवरीदेखि बन्द रहेको थियो। यद्यपि सो बड़ा कोठी (बङ्गलो) को देखरेख चौकिदारले गरिरहेका थिए । यसैबीच आइतबार साँझ पाँच बजेदेखि उक्त बड़ा कोठी (बङ्गलो)मा आगो लागेको थियो । आगलागि सर्ट सर्किटका कारण भएको अनुमान गरिएको छ ।

त्यस क्षेत्रमा सक्रिय सामाजिक समूह टिस्टा रङ्गीत वेलफेयर सोसाइटीका महासचिव तथा प्राथमिक पाठशालाका शिक्षक राजेन दुमीले बताए, “म पानी भर्नका लागि स्कुटीमा जरिकेनहरू लिएर जाँदा त्यस्तो केही थिएन । तर फर्केर आइसकेपछि आगो लागेको थियो। यो हाम्रो एउटा धरोहर नै थियो । तर यसरी डड़्दा धेरै दुःख लागेको छ ।” यसै गरी उक्त सोसाइटीकै अध्यक्ष सुनील सुब्बाले भने ” यो बड़ा कोठी (बङ्गलो) मा आगो लागेको थाहा पाउनेसाथ साँझ पाँच बजे मैले नै दार्जीलिङ पुलिस स्टेशन अनि फायर स्टेशनमा फोन गरें। तर उनीहरू सात बजे मात्र आइपुगे, त्यतिञ्जेल बड़ा कोठी (बङ्गलो) डढेर खरानी भइसकेको थियो ।”









































