काठमाण्डौँ, 16 मार्च 2020
नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहको भेलाले नेतृत्वले गरेको फोहार सफा गर्न सबै एकजुट भएर अगाडी बढ्नुपर्ने निष्कर्ष निकालेको छ। सोमबार राजधानीमा आफ्नो गुटको भेलामा सम्बोधन गर्दै सिटौलाले नेतृत्वले गरेको फोहोर सफा गर्न सबै युवा नयाँ सोचका साथ अगाडी बढ्नुपर्ने बताउनुभयो। सम्बोधनका क्रममा सिटौलाले अहिले कांग्रेस राजनीतिक समाजमा ‘झिँगो’ स्वभावबाट अगाडी बढिरहेको टिप्पणी गर्नुभयो। नेतृत्वलाई फोहोर झिँगासँग तुलना गर्दै सिटौलाले भन्नुभयो, ‘हेर्दा मौरी र झिँगा उस्तै देखिन्छ। एउटाले फोहोर छर्दै हिन्छ। एउटाले फुलको सर बटुल्दै हिन्छ। एउटाको परोपकारी गुण छ। एउटाको ध्वंशकारी गुण छ। प्रत्येक तहमा रहेका युवाहरुसँग फरक फरक क्षमता रहेको उल्लेख गर्दै सिटौलाले सबैको क्षमता बटुल्दै कांग्रेसलाई परिवर्तनशिल बनाउनुपर्ने बताउनुभयो। परिवर्तित कांग्रेसको काँधमा कम्युनिष्टसँग लडेर व्यवस्थालाई बलियो बनाउने अभियानमा लाग्न उहाँले आग्रह गनुभयो। आगामी निर्वाचनमा सफलता शिखरसम्म पुग्ने अर्जुनदृष्टिका साथ तयारी गर्न उहाँले आग्रह गर्नुभयो।
नेता गगन थापाले पार्टी नेतृत्वको अहिलेसम्म कृयाकलापले तोकिएको समयमा महाधिवेशन हुन नसक्ने सम्भावना बढेर गएको बताउनुभयो। नेतृत्वको सफलता असफलता तोकिएको समयभित्र अधिवेशन गर्ने कुराले निर्धारण गर्ने उल्लेख गर्दै थापाले पार्टीको विधान अनुसार भूमिका निर्वाह गर्न सबैमा आग्रह गर्नुभयो। महाधिवेशनको वातावरण बनाउने काम सभापति र महामन्त्रीको भएको थापाको भनाई छ। जिल्लाहरुको समायोजन समयमै सक्न महामन्त्री खट्न नसकेको आरोप पनि उहाँले लगाउनुभयो। थापाले भन्नुभयो, ‘महामन्त्री सचिवालयको प्रमुख हो। यस बेलामा पार्टीको महामन्त्रीले जिम्मा लिएर पार्टी कार्यालयमा गएर त्यहाँबाट महामन्त्रीको भूमिका निर्वाह गर्नुपर्ने हो। समायोजनको कुरा आयो ३०, ३२ जिल्ला बाहेक समायोजन भएन भनेर भन्न मिल्छ? समायोजन हुन सकेको छैन् भने सातै दिन २४ घण्टा नै पार्टी कार्यालय जानुपऱ्यो त्यहाँ बस्नुपऱ्यो। प्रतिनिधि पठाएर काम गर्नुपऱ्यो। यति समयसम्म मलाई काम चाहिन्छ भन्नुपऱ्यो।
काठमाडौंको बत्तिसपुतलीमा भएको भेलामा २ सयभन्दा बढी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो। भेलामा नेताहरुले आफुहरु कांग्रेसमा सुधार गर्दै अगाडी बढ्ने अभियानमा रहेको बताएका छन्।









































