काठमाण्डौँ, 16 मार्च 2020
संघीय संसद प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरुले टुंगो लगाएपछि मात्रै मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी बारे संसदीय प्रक्रिया अघि बढ्ने स्पष्ट पार्नुभएको छ। सोमबार सिंहदरबारमा भएको पत्रकार भेटघाट कार्यक्रममा सभामुख सापकोटाले राजनीतिक दलहरुबीच नै सहमति जुटिनसकेकाले एमसीसी संसदको विषय बन्न नसकेको बताउनुभएको हो। उहाँले राजनीतिक दलहरुबीच सहमति जुटेपछि मात्रै आफुले एमसीसीलाई संसदीय एजेण्डाको रुपमा ग्रहण गर्न सक्ने बताउनुभयो। उहाँले वर्तमान समयमा महत्वका दृष्टिले कोरोना भाईरस संक्रमणको बारेमा धेरै बहस भएपनि एमसीसी पनि बहसमा नै रहेको बताउनुभयो। उहाँले राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासंग आफ्नो कुनै पनि किसिमको असमझदारी नरहेको र कार्यवहाक महासचिवमा गोपालनाथ योगीलाई तोक्ने निर्णय गर्दा पनि अध्यक्ष तिमिल्सिनासंग सल्लाह गरेको स्पष्ट पार्नुभयो।
उपसभामुख चयन प्रक्रिया बारे पत्रकारको प्रश्नमा उहाँले नेकपाले टुंगो लगाएपछि उपसभामुख चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने स्पष्ट पार्नुभयो। यद्यपि उपसभामुखका बारेमा छिटो टुंगोमा पुग्ने सम्बन्धमा संसदीय दलका उपनेतासंग कुरा गरिरहेको पनि स्पष्ट पार्नुभयो।
उहाँले आफुले विधेयकहरु पारित गराउन सक्दो पहल गर्ने प्रतिवद्धता पनि जनाउनुभयो। चालु अधिवेशनमा जम्मा २ वटा विधेयक दुवै सदनबाट पारित भएका छन्। उहाँले नागरिकता सम्बन्धी विधेयक समितिमा अड्किँदा नागरिकहरुले दुखपाएको महसुस आफुले पनि गरेको बताउनुभयो। उहाँले तीन पटक मुद्दा जित्दा पनि नागरिकता नपाएका घटनाहरु भएको स्मरण पनि गर्नुभयो। उहाँले निर्माणाधिन संसद भवन निर्माणको काम तिब्र गतिमा अघि बढेको भन्दै प्रसम्सा पनि गर्नुभयो।









































