नयाँ दिल्ली, १७, मार्च, २०२०
भारतमा कोरोना भाइरस संक्रमणका कारण थप एक व्यक्तिको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या 3 पुगेको छ । भारतमा सबैभन्दा धेरै संक्रमण भेटिएको महाराष्ट्रमा 64 वर्षिया महिलाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ। महिलालाई उपचारका लागि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो। यसअघि गए साता दिल्लीमा एक वृद्ध महिला र कर्नाटकमा एक वृद्ध पुरुषको ज्यान गएको थियो। भारतमा कोरोना भाईरस संक्रमणका 125 मामिलाहरु प्रकाशमा आएपछि मुम्बईमा एक जनाको ज्यान गएको हो। देशमा कोरोना भाइरस प्रकोपका घटनाहरु बढ्दै गएपछि सोमबार सरकारले देशव्यापी रुपमा विद्यालय, कलेज, जीमखाना, स्वीमीङपुल लगायत मान्छेहरुको भेला हुने सबै स्थानहरु बन्दको घोषणा गरेको छ। विश्वका 143 देशमा प्रभावित गरेको कोरोना भाइरसका कारण विश्वभरि 7 हजार भन्दा धेरैको ज्यान गइसकेको छ। सोमबार मात्रै विश्वभर 14 हजार मानिसहरु एक दिनमा कोरोना भाइरसबाट संक्रमित भएका छन। यो संख्यासँगै विश्वभर संक्रमित हुनेहरुको संख्या 1 लाख 67 हजार 500 पुगेको छ।









































