नयाँदिल्ली, १७ मार्च, २०२०
पछिल्लो समयमा कोरोना भाईरसको संक्रमण विश्वभर फैलिएको छ । त्यसैले भारतमा कोरोना भाइरस फैलिएसँगै गाईको गोबर र गहुँत धमाधम बिक्री हुन थालेको छ । इकोनोमिक टाइम्सका अनुसार पश्चिम बंगाल आसपास क्षेत्रमा गोबर र गहुँत ८०० रूपैयाँ किलो-लिटरमा बेचिएको छ ।
डेरी व्यवसाय गर्दै आएका स्थानीय मावुद अलीका अनुसार कोरोना भाइरसको संक्रमणबाट बचिने भन्दै गोबर र गहुँत किन्न आउनेको संख्या बढ्दो छ ।
संसारभर फैलिरहेको कोरोना संक्रमण रोक्ने भन्दै अनेक भ्रम फैलिएका छन्। मान्छे पिरो, रक्सी खानेदेखि गहुँत वा गोबरसम्मको पुगिसके। तर विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनमा यी सबै भ्रम हुन् । यी कुरा खाँदा कोरोना संक्रमण नहुने भन्ने कुनै आधार वा पुष्टि छैन। यी सबै मान्छेले नै फैलाएका भ्रम मात्र भएका संगठनले बारम्बार भन्दै आएको छ ।
भारतको राजधानी दिल्लीमै तीन दिनअघि हिन्दू अभियन्ताहरूले गहुँतले कोरोना संक्रमणबाट बचाउने भन्दै गहुँत पिउने कार्यक्रम गरेका थिए ।
पश्चिम बंगालका अलीलाई पनि गहुँत र गोबर बेच्ने उपाय यही गहुँत ’पार्टी’बाट फुरेको बताएका छन् ।
उनले आफ्नो पसल अगाडि गोबरका प्याकेट र बट्टामा गहुँत बेच्न राखेका छन्। ’गहुँत पिउनुस्, कोरोना भाइरस भगाउनुस्,’ उनको पसलअगाडि टाँसिएको पोस्टरमा लेखिएको छ। अलीका अनुसार उनका घरमा दुइटा गाई छन्। एउटा स्थानीय भारतीय जातको र एउटा जर्सी गाई। उनी यिनै गाईको दूध बेचेर गुजारा चलाउँछन्।









































