कञ्चनपुर, 17 मार्च 2020/हिम शाह
चीनलगायत विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाईरसको संक्रमण सीमा क्षेत्रमा बढ्न सक्ने भन्दै पूर्णागिरीको दर्शन गर्न जाने दर्शनार्थीलाई नेपाल-भारत आवतजावत गर्न रोक लगाइएको छ। नेपाल-भारत सीमानाअर्न्तगत भारतको टनकपुरमा पर्ने पूर्णागिरी मन्दिर र कञ्चनपुरको महेन्द्रनगरमा रहेको शिद्धबाबा मन्दिरमा आउने-जाने दर्शनार्थीलाई दुवै देशको संयुक्त टोलीले रोक लगाइएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभएको छ। मेलामा नेपाल-भारतका हजारौँ दर्शनार्थीको आवतजावत हुने गर्दछ। आवतजावत हुँदा कोरोना संक्रमणको जोखिम बढ्न सक्ने देखिएको भन्दै मेला मंगलबारबाट स्थगित गरिएको छ।

पूर्णागिरी मेला फागुपूर्णिमा देखि बैशाख पूर्णिमासम्म लाग्ने गर्दछ। भारतको उत्तराखण्डस्थित चम्पावत जिल्लामा पर्ने पूर्णागिरी माताको दर्शनपछि कञ्चनपुरको ब्रम्हदेवमा रहेको सिद्धबाबाको दर्शन गर्नुपर्ने धार्मिक मान्यता छ। यसर्थ पूर्णागिरीको मेलामा पुग्ने दर्शनार्थीहरु महेन्द्रनगरको शिद्धबाबा मन्दिरमा पनि पुग्ने गर्दछन्। उक्त समय फागुनदेखि जेठसम्म महेन्द्रनगर लगायत टनकपुरसम्म भिडभाड हुने गर्दछ।

नेपाल सरकारले गड्डाचौकी नाकालाई पूर्ण रुपमा खुला गरिएको छ। पूर्णागिरीको दर्शनमा धेरै भिडभाड हुने भएकाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुवै देशमा दर्शनार्थीलाई आवतजावतमा रोक लगाइएको प्रहरी नायब निरीक्षक चन्दले बताउनुभयो। सरकारले सभा, सम्मेलन लगायतका भिडभाड नगर्न आग्रह गरेपनि पूर्णागिरीको दर्शनपछि भने दैनिक पाँच हजार भारतीय दर्शनार्थी नेपाल भित्रिने गरेका थिए। जसले गर्दा सिमानामा स्वास्थ्य जाँचमा समेत समस्या हुने गरेको थियो।

भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि स्थानीयले मेला स्थगित गर्न आग्रह गर्दै आएका थिए। तर दुई देशीय धार्मिक मेला भएकाले नेपालले मात्रै स्थगित गर्न नमिल्ने भन्दै स्थानीय प्रशासनले लामो समयदेखि भारतीय पक्षसँग छलफल गर्दै आएको थियो। अन्ततस् बन्द गर्ने निर्णय गरिएको दुवै पक्षले परिपत्र नै टाँस गरेका छन्।









































